आज तराईका जिल्लाहरूमा (फागु)  होली पर्व मनाइँदै

काठमाडौं । आज तराईका जिल्लाहरूमा (फागु)  होली पर्व मनाइँदैछ । तराईमा होलीलाई विशेष महत्त्वका साथ मनाउने गरिन्छ । रङहरूको पर्व होलीलाई मित्रता, आत्मीयता, सामीप्य र सद्भाव दर्शाउने पर्वको रूपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरू जम्मा भएर होली खेल्ने गरिन्छ ।

पहाडी तथा हिमाली जिल्लाहरुमा होली मनाइएको भोलिपल्ट तराईमा होली पर्व मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकआपसमा खुशियाली प्रकट गर्न सामूहिक रूपमा भेला भएर एक अर्कामा रङ दलेर मनाउने गरिन्छ । होलीमा प्रयोग गरिने रङहरूको आ–आफ्नै महत्त्व रहेको छ । नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ । पहेँलो रङ भगवान विष्णु र श्रीकृष्णको प्रिय रङ हो । भगवान गणेशलाई सबै रङ मन पर्ने तथा  रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ ।

सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपुले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रह्लादले काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका आफैँ जलेर नष्ट भएपछि असत्यमाथि सत्यको विजय भएको प्रतीकको रूपमा होली पर्व मनाउने गरिएको छ । होलीको अवसरमा सरकारले आज तराईका जिल्लामा सार्वजानिक बिदा दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर