लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने सांसदहरुको धारणा

काठमाडौं । प्रतिनिधिसभाको आज मंगलबार बसेको बैठकको आकस्मिक समयमा सांसदहरुले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने धारणा व्यक्त गरेका छन् । विद्यमान संविधानविपरीत गतिविधि भइरहेकाबारे पनि सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद महेशकुमार बर्तौलाले संविधानको पालना गर्नु प्रत्येक नागरिकको कर्तव्य रहेको उल्लेख गर्दै केही दिनयता पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशन र उक्साहटमा समाजमा संविधान विरोधी क्रियाकलाप भइरहेका बताए । पूर्वराजा स्वंयले यी कार्य गर्नका लागि उक्साइरहेको उनको आरोप थियो । लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने सांसद बर्तौलाले बताए ।
सांसद अर्जुननरसिंह केसीले सरकार र नेपाल शिक्षक महासङ्घबीच विगतमा भएको सम्झौता कार्यान्वयन हुन नसक्दा महासङ्घ पुनः आन्दोलनका क्रममा रहेको उल्लेख गर्दै पुनः वार्ता र सहमतिको प्रयास गर्न संसदमार्फत सरकारको ध्यानाकर्षण गराए । सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र बाध्यकारी बनाउन नहुने उनले बताए । यसलाई बाध्यकारी बनाउँदा ज्येष्ठ नागरिक, अपाङ्गलगायतलाई समस्या भएको सांसद केसीले बताए ।
सांसद रूपा चौधरीले सुदूरपश्चिमका विकट भेगमा नागरिकले सामान्य स्वास्थ्य उपचारसमेत नपाइरहेको बताइन् । यस्तै, अछाममा माटोको ढिस्कामा पुरिएर दुई महिलाको मृत्यु भएको विषय पनि उनले संसद्मा उठाइन् ।
सांसद शेरबहादुर कुँवरले पनि अछाममा माटोको ढिस्कोमा पुरिएर दुई महिलाको मृत्यु भएको विषय उठाउँदै यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने बताए ।
सांसद हरि ढकालले चितवनको सौराहा क्षेत्र वरिपरि हात्ती आतङ्क बढेको र मानव तथा जङ्गली जीवबीच द्वन्द्व बढेकाले यसलाई नियन्त्रण गर्न आवश्यक कदम चाल्नुपर्ने बताए ।
सांसद रमा कोइराला पौड्यालले मुलुकभित्रै रोजगारीको अवसर तथा न्यूनतम ज्याला उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइन् । सोमबारदेखि राजधानीमा सुरु भएको श्रम तथा रोजगार सम्मेलनमा संसदीय समितिका सभापति र सांसदहरुलाई नबोलाइएको प्रति पनि उनले आपत्ति जनाइन् ।
सांसद ईश्वरी घर्तीले नेपालबाट अवैध रूपमा रुसी सेनामा भर्ती हुने क्रम अझै नरोकिएको कुरा संसदमा उठाइन् । सांसद सरिता भुसालले आगलागी पीडितलाई स्वास्थ्य उपचारको व्यवस्था गर्न र राहतको व्यवस्था गर्न सरकारसँग माग गरिन् ।