सरकारको विश्वसनीयता सकिएकाले राजतन्त्रवादीहरु हौसिन थाले : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले विश्वसनीयता गुमाउँदै जाँदा पुरातनपन्थी र राजतन्त्रवादीहरु हौसिन थालेको टिप्पणी गरेका छन् । आज मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले वर्षौंसम्म बन्द कोठामा समेत राजतन्त्र पुनर्स्थापनाको सपना देख्न डराएकाहरु वर्तमान सरकारको कारण सडकमै ओर्लिएर चुनौती दिन थालेको बताएका हुन् । उनले राजावादीहरुको चहलपहलको पछाडि संगठित प्रयास पनि रहेको बताए । उनले देशभित्र र बाहिरका चलखेलबाट पनि राजावादीहरु हौसिएको बताए ।
‘सरकारको विश्वसनीयता सकिएकै देखेर आज पुरातनपन्थी राजतन्त्रवादी हौसिएका छन् । वर्षौंसम्म बन्द कोठामा समेत राजतन्त्र पुनर्स्थापनाको सपना देख्न डराएकाहरु आज सडकमै ओर्लिएका छन् । सडकबाटै राजसंस्था पुनर्स्थापनाको चुनौती दिन थालेका छन्,’– प्रचण्डले भने । तर, अहिले राजावादीहरुको चहलपहल अचानक बृद्धि भएको उनले बताए । सरकारमा रहेका पार्टीहरुले पछिल्लो ८ महिनामा प्रदर्शन गरेको शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै राजवादी सडकमा आउनुको मूल कारण रहेको उनको दाबी छ ।