एकैदिन ७५ अंकले बढ्यो नेप्से : सवा १४ अर्बको कारोबार

काठमाडौं ।  साताको पहिलो कारोबारको दिन आज आइतबार सेयर बजार बढेको छ । आज नेप्से परिसूचक ७५.२४ अंकले बढेर २,८९०.२८ विन्दुमा पुग्यो ।  आज सेन्सेटिभ इण्डेक्स १४.४७ अंक बढ्दा फ्लोट इण्डेक्स ५.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.८० अंक बढेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि उच्च बढेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ११ अर्ब ३९ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०२ स्टकको १ लाख ३९ हजार ५९६ पटकको कारोबारमा १४ अर्ब २५ करोड ४ लाख ७५ हजार रुपैयाँबराबरको २ करोड ९१ लाख ६६ हजार कित्ता सेयर खरिदबिक्री भएको हो । यो कारोबार रकम पछिल्लो साढे ५ महिनायताकै उच्च हो । गत ११ भदौमा नेप्से १८ अर्ब ६४ करोडको सेयर खरिदबिक्री भएको थियो ।

आजको बजारमा आधा दर्जन कम्पनीको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । यस दिन हिमालयन डिष्टिलरी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन समाज लघुवित्त वित्तीय संस्थाको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । समाज लघुवित्तले ग्रामिण विकास लाघुवित्तसँग मर्जरमा जाने सम्झौता गरेको छ । ग्रामिण विकासको शेयर मूल्य भने साढे ६ प्रतिशतले बढेको छ ।

१३ समूहको कारोबार भएको बजारमा म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । उत्पादनमूलक समूहमा सबैभन्दा बढी वृद्धि भएको छ । यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.७९ प्रतिशत बढेको छ ।

त्यस्तै, यस दिन वित्त, होटल तथा पर्यटन र जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूच कभने १.२७ प्रतिशत घटेको छ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ९७ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ८५ करोड ९३लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको ४० करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर