उपप्रधानमन्त्री श्रेष्ठ र एमसीसी उपाध्यक्ष बुरक्सबीच भेट

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष जोनाथन बु्रक्सबीच भेटवार्ता भएको छ। नेपाल भ्रमणको क्रममा रहेका एमसीसी उपाध्यक्ष बुरक्स नेतृत्वको टोलीले शनिबार सिंहदरबारस्थित गृह मन्त्रालयमा उपप्रधानमन्त्री श्रेष्ठसँग शिष्टाचार भेट गरेको हो ।

भेटमा बुरक्सले एमसीसी परियोजनाका लागि आवश्यक जग्गा प्राप्ति, सुरक्षा र समन्वयनको काममा गृह मन्त्रालयको तर्फबाट सहयोग उपलब्ध गराउन आग्रह गरेका थिए । उपप्रधानमन्त्री श्रेष्ठले सो परियोजनालाई समयमै सम्पन्न हुनेगरी अघि बढाउनका लागि गृह मन्त्रालय र मातहतका प्रशासनिक निकायको आवश्यक सहयोग हुने बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले एमसीसी परियोजनालाई समयमै सम्पन्न गर्नका लागि गृह मन्त्रालयको तर्फबाट पर्याप्त र आवश्यक सहयोग हुने कुरा सो परियोजनाको प्रतिनिधिमण्डललाई बताभको भेटमा सहभागी गृहसचिव गोविन्द भट्टराईले जानकारी दिए ।

उनले भने, ‘‘आज गृह मन्त्रालयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री र एमसीसीका भाइस प्रिसिडेन्ट जोनाथन बुक्सबीच भेट भएको छ । उहाँहरुको नेपाल भ्रमणको क्रममा माननीय उपप्रधानमन्त्रीसँग शिष्टाचार भेट हो । परियोजनाका बारेमा सामान्य कुरा गर्न र परिचयात्मक रुपमा आफूलाई प्रस्तुत गर्न उपस्थिति हनुभएको थियो । भेटघाटको क्रममा परियोजनाका आगामी गतिविधिमा मूल रुपमा प्रमुख जिल्ला अधिकारी संलग्न भई गर्नुपर्ने काम जग्गा प्राप्ति, परियोजनालाई उपलब्ध गराउनुपर्ने सुरक्षा तथा समन्वयको क्षेत्रमा गृह मन्त्रालयको तर्फबाट हुन सक्ने सहयोगका लागि आग्रह गर्नुभएको छ । माननीय उपप्रधानमन्त्रीले परियोजनाको सफल कार्यान्वयन, समयमै सम्पन्न गर्ने गरेर कार्यान्वयन गर्न मन्त्रालयको प्रशासन र प्रमुख जिल्ला अधिकारीहरुबाट पर्याप्त र आवश्यक सहयोग हुने आश्वासन उपलब्ध गराउनु भएको छ ।’’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर