राजतन्त्र र गणतन्त्र फेल भएकाले समाजवादी व्यवस्थाको विकल्प छैन : अध्यक्ष बिजुक्छें

भक्तपुर ।  नेपाल मजदुर किसान पार्टीको आठौं महाधिवेशन आज शुक्रबारदेखि सुरु भएको छ । भक्तपुरको सल्लाघारीस्थित चौरमा आठौं महाधिवेशनको उद्घाटन गर्दै नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेंले देश बिगार्ने काम ठूला र सत्ताधारी पार्टीले गर्दै आएको बताए ।
बिजुक्छेंले भने,“राजतन्त्र र गणतन्त्र पुँजीपति वर्गको उत्थानकै लागि रहेको प्रष्ट भएकाले दुबै व्यवस्था फेल भएकाले समाजवादी व्यवस्थाको विकल्प नरहेको र वैदेशिक सहायताका नामा तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्रीलाई टुँडिखेलमा राखेर प्रश्न सोध्नपर्ने अवस्था आएको छ।”

उनले पुँजीपति देशको नक्कल गर्दै दुई दलीय तानाशाही लाद्ने देशमा ठूला दल भनिएका नेताहरुले थ्रेस्होल्ड लगाउन लागेकोमा त्यसको कडा विरोध गरे । पैसा खर्च गरेर ठूला–ठूला पार्टी बनाएर आम जनतालाई गिज्याउनेहरू वर्तमान अवस्थामा छटपटाइरहेको बताउँदै उनले आफ्नो विवेकलाई विदेशमा बन्धक राखेर ठूला दलका नेताहरूले जनतामा भ्रम छर्ने कामबाहेक केही गर्न नसेकेको जिकिर गरे ।

स्थानीय निकायलाई अधिकार नदिनु सरकारको गम्भीर गल्ती भएको बताउँदै उनले वर्तमान सरकारले स्थानीय निकायलाई विकेन्दीकरण र स्वायत्तता प्रदान गर्न नसकेको टिप्पणी पनि गरे । जनविरोधीहरूले भक्तपुरमा विश्वविद्यालय बनाउन नदिएको र त्यसको प्रत्यक्ष पिल्साई आम जनताका छोराछोरी बनेको बिजुक्छेको भनाई थियो । उनले गलत विषयका बारेमा सहने क्षमता हुनु भनेको देश बिगार्नु जत्तिक्कै रहेकाले जनताले गलत विषयको विरोध गर्नुपर्नेमा जोड दिए ।

महाधिवेशनमा करिब ५० जिल्लाबाट चार सय महाधिवेशन प्रतिनिधि सहभागी रहेको पार्टीका केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाँईले जानकारी दिए । महाधिवेशनबाट पार्टीको आगामी नीति तथा योजनाहरूको विषयमा छलफल हुने बताइएको छ। पार्टी स्थापनाकालदेखि नै अध्यक्ष भएका बिजुक्छेले आठौं अधिवेशनमा नयाँ नेतृत्व चयन गर्छ कि पुनः आफैँ दोहोरिन चाहन्छ भन्ने धेरैको जिज्ञासा रहेको छ।


यसअघि र्‍याली कमलविनायकको लान्चाफल्चा, मध्यपुरथिमिको बोडे, सूर्यविनायक बस बिसौनी, ताथली र काठमाडौंको कोटेश्वरलगायतको ठाउँमा बाजागाजा, झाँकी, विभिन्न सांस्कृतिक प्रदर्शन गर्दै दिउँंसो १ बजे सल्लाघारीमा पुगेर उद्घाटनसत्रमा मिसिएको थियो ।
अध्यक्ष नारायणमान बिजुक्छेंंको नेतृत्वमा विसं २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भएको जानकारी दिँदै बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाँईले पार्टीको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा भएको बताए। यसअघिको पार्टीको सातौँ महाधिवेशनसम्ममा पार्टी संस्थापक अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) लाई नै सर्वसम्मत अध्यक्ष चुन्दै आएको छ । सातौँ महाधविशेनले बिजुक्छेंको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । जसमा २३ केन्द्रीय र दुई जना वैकल्पिक केन्द्रीय सदस्य रहेका थिए । महाधिवेशन यही फागुन १९ गतेसम्म चल्ने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर