सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शुक्रबार पार्टीका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन् । सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने बैठकमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी उपस्थित हुनेछन् । बैठकमा संसद्मा पेश भएका विधेयक, सदनमा अलपत्र अध्यादेश र पार्टीको भ्रातृ संगठनको अधिवेशनलगायतका विषयमा छलफल हुने बताइएको छ ।
यसैगरी आजै सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तल बैठक साँझ ५ बजे बोलाएका छन् । बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल हुनेछ। संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी हुनेछन्।
नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणा देउवा पनि बैठकमा उपस्थित हुनेछन्। सरकारले ल्याएको भूमि अध्यादेशमा राष्ट्रियसभामा बहुमत पुग्न नसकेको कारण गत एक महिनादेखि उक्त अध्यादेश अघि बढ्न सकेको छैन। आजको बैठकमा उक्त अध्यादेशको बारेमा पनि छलफल हुने जनाइएको छ। अध्यादेशलाई लिएर कांग्रेसभित्र असन्तुष्टि चुलिएको छ । सम्भवतः कांग्रेस संस्थापन पक्षले पार्टीभित्रै समान धारणा विकास गर्ने प्रयत्न गर्नेछन् ।