आज नेमकिपाको आठौँ महाधिवेशन सुरु हुँदै

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशन यही १९ फागुनसम्म चल्नेछ ।
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईँले नेमकिपाको आठौँ महाधिवेशनले देश तथा विदेशका विभिन्न विषयमा केन्द्रित भएर बृहत् छलफल गर्दै विभिन्न एजेन्डा पारित गर्ने बताए । उनले महाधिवेशनका लागि काठमाडौं, भक्तपुर, ललितपुरसहित सातै प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताको सहभागिता रहने उनले जानकारी दिए ।
आज बिहान १० बजे कमलविनायकको लान्चाफल्चा, मध्यपुरथिमिको बोडे, सूर्यविनायकको सूर्यविनायक बस बिसौनी, काठमाडौंको कोटेश्वर, ताथलीलगायत ठाउँमा बाजागाजा, झाँकी, विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै दिउँसो १ बजे सल्लाघारीमा पुगेर उद्घाटन सत्रमा परिणत हुने गोसाईँले बताए ।
अध्यक्ष नारायणमान बिजुक्छे रोहितको नेतृत्वमा १० माघ २०३१ मा नेपाल मजदुर किसान पार्टीको स्थापना भएको थियो । पार्टीको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा भएको थियो ।