राष्ट्रपतिबाट टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६१औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा शरीक भई बढाइँ तथा सैनिक कला प्रदर्शनी अवलोकन गरेका छन् ।
राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन् । उनले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरे । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिने गरिन्छ ।
समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही–२०८१’ वार्षिक पत्रिका पनि विमोचन गरे । उनले ‘फ्री फल जम्प’ मा प्रथम हुने सेनानी जगनाथ दनै र दोस्रो हुने अमलदार मित्रबहादुर रानामगरलाई पुरस्कार प्रदान गरे । राष्ट्रपति पौडेलले सेना दिवस समारोहमा ब्याण्ड प्रस्तुत गर्ने भारतीय, बेलायती र अमेरिकी सेनाका टोली प्रमुखलाई सम्झनास्वरूप उपहार प्रदान गरे ।
यसअघि सेनाको हेलिकोप्टरमार्फत पुष्पवृष्टि गर्नाका साथै राष्ट्रिय झण्डा र ‘सेना दिवस–२०८१’ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो । त्यस अवसरमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ तथा कवाज प्रस्तुत गरेको थियो । समारोहमा सेनाद्वारा विभिन्न रणकौशल, मार्चपास तथा परम्परागत भेषभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरिएको थियो ।
सो अवसरमा नेपाली सेनाको तर्फबाट शान्ति मिसनमा प्रयोग गर्दै आएका सवारीसाधन, उपकरण र हातहतियारको प्रदर्शन गरिएको थियो । त्यस्तै सेनाको टोलीबाट सङ्गठनको प्रतीक चिह्न षटकोणभित्र त्रिशूल र डमरु आकृतिलगायतको प्रस्तुति भएको थियो ।
त्यस अवसरमा भारतीय स्थल सेनाका पूर्वप्रमुखहरू जोगिन्दर जसवन्त सिंह, दीपक कपुर, विजयकुमार सिंह, दलवीरसिंह सुहाग, मनोजमुकुन्द नरवणे र मनोज पाण्डे सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो लागेको थियो ।