महाकुम्भका कारण पशुपतिमा भारतीय साधुसन्तको उपस्थिति न्यून

काठमाडौं । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा महाकुम्भ मेला चलिरहेकाले यसपटक महाशिवरात्रिका अवसरमा पशुपतिमा आउने नागा बाबा, साधुसन्तको उपस्थिति न्यून देखिएको छ । साधुसन्त कम देखिए पनि पाशुपातिक क्षेत्रमा चहलपहलमा भने कमी आएको देख्दिैन । भोलि बुधबार परेको महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा नेपालका विभिन्न स्थानबाट बाबा, साधुसन्तहरु पशुपति क्षेत्रमा आइसकेका छन् ।
दर्शन गर्न आउने श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति बढेको छ । एक दशकयताकै सर्वाधिक भक्तजन आउने अपेक्षाका साथ पशुपति क्षेत्र विकास कोषले व्यवस्थापन गरेको जनाएको छ । नेपाल, भारत, भुटान, बङ्गलादेश, म्यानमारसहितका देशबाट भक्तजन आइरहेका छन् । व्यवस्थित रूपमा पूजाआजा र दर्शनको व्यवस्था गर्न बुधबार बिहान २ बजे पशुपतिनाथ मन्दिरको ढोका खोल्ने निर्णय भएको छ ।