रुसको रोक्का सम्पत्ति युक्रेनको पुनर्निर्माणमा खर्च गर्ने संकेत

काठमाडौं । रुसले युरोपमा आफ्नो रोक्का गरिएको तीन सय अर्ब डलरबराबरको सम्पत्ति युक्रेनको पुनर्निर्माणका लागि प्रयोग गर्न सहमति दिन सक्ने संकेत दिएको छ । तर, रुसले यो रकमको केही हिस्सा आफूले नियन्त्रण गरेको युक्रेनको पाँचौँ भागमा खर्च गर्नुपर्ने सर्त राख्ने रोयटर्सले उल्लेख गरेको छ । फेब्रुअरी १८ मा रुस र अमेरिकाबीच पहिलोपटक युक्रेन युद्ध अन्त्य गर्न प्रत्यक्ष वार्ता साउदी अरेबियामा भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवैले निकट भविष्यमा भेटवार्ता गर्ने इच्छा व्यक्त गरेका छन्।

रुसको सम्पत्ति किन रोक्का गरिएको थियो ?

सन् २०२२ मा पुटिनले युक्रेनमा सैन्य हस्तक्षेप गरेपछि अमेरिका र उसका सहयोगी राष्ट्रहरूले रुसी केन्द्रीय बैंक र वित्त मन्त्रालयसँग हुने सबै आर्थिक कारोबारमा प्रतिबन्ध लगाएका थिए । यसअन्तर्गत ३५० अर्ब डलरबराबरको रुसी सम्पत्ति (प्रायः युरोप, अमेरिका र बेलायतका सरकारी बन्डहरू) रोक्का पारिएको थियो । जसलाई युरोपको एक वित्तीय निकायमा राखिएको छ ।

वार्तामा रुसको प्रस्ताव

हाल अमेरिका र रुसबीचको छलफल प्रारम्भिक चरणमा रहे पनि मस्कोले रोक्का गरिएको सम्पत्तिको ठूलो हिस्सा युक्रेन पुनर्निर्माणका लागि प्रयोग गर्न सक्ने प्रस्ताव ल्याउने तयारी गरिरहेको छ । पूर्वी युक्रेन युद्धले नराम्ररी ध्वस्त भइसकेको छ । दुवैतर्फका लाखौँ सैनिक घाइते वा मृत्यु भइसकेका छन् र करोडौँ युक्रेनीहरू युरोप वा रुसतर्फ शरणार्थी बनेर भागेका छन् । विश्व बैंकले युक्रेन पुनर्निर्माण र पुनर्स्थापनाका लागि कम्तीमा ४८६ अर्ब डलर आवश्यक पर्ने अनुमान गरेको छ । रुसले युद्ध रोक्नका लागि युक्रेनी सेना रुसले आफ्नो भन्दै आएको भूभागबाट फिर्ता जानुपर्ने र युक्रेनले नेटो सदस्यता लिन खोज्ने लक्ष्य त्याग्नुपर्ने सर्त राखेको छ ।

तर, युक्रेनले भने रुसी सेना पूर्ण रूपमा फिर्ता जानुपर्ने र पश्चिमी देशहरूबाट सुरक्षा प्रत्याभूति आवश्यक पर्ने बताएको छ । ट्रम्प प्रशासनले युक्रेनको मागहरू अवास्तविक भएको टिप्पणी गरेको छ। रुस र अमेरिकी प्रतिनिधिहरूबीच साउदी अरेबियामा भएको भेटमा यो प्रस्ताव उठाइयो वा उठाइएन भन्ने पुष्टि हुन सकेको छैन।

सन् २०२३ मा जी–७ राष्ट्रहरूले जबसम्म रुसले युक्रेनमा पुर्‍याएको क्षतिको क्षतिपूर्ति तिर्दैन तबसम्म रुसी सम्पत्ति रोक्का रहने निर्णय गरेका थिए । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई जी–७ मा फिर्ता ल्याउने इच्छा व्यक्त गरेका छन् । रुसका केन्द्रीय बैंक गभर्नर एल्भिरा नाबियुलिनाका अनुसार बैंक कुनै पनि प्रतिबन्ध हटाउने वा रुसी सम्पत्ति फुकुवा गर्ने छलफलमा संलग्न छैन । रुसले युक्रेन पुनर्निर्माणका लागि आफ्नै रोक्का गरिएको सम्पत्तिको प्रयोग गर्ने सम्भावना देखाएसँगै द्वन्द्व अन्त्य गर्ने प्रक्रियामा केही संकेत दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छ्न् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर