अमेरिकाद्वारा टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

काठमाडौं । अमेरिकी गृह सुरक्षा विभागले सबै देशको अस्थायी संरक्षित स्थिति (टीपीएस) खारेज गरेको छ । टीपीएस खारेज गरेपछि करिब आठ लाख ५० हजार आप्रवासीहरूको अब बिचल्ली हुने भएको छ । ट्रम्प प्रशासनले हाल कायम रहेका नेपाललगायत १७ देशका आप्रवासीहरूको टिपीएस खारेज गर्ने निर्णय गरेसँगै टिपीएस वाहकहरूको स्थिति नाजुक हुने भएको हो । उनीहरू अबको केही महिनापछि अवैध हुने भएका छन् ।
टीपीएस वाहकलाई अमेरिकाभर काम गर्ने अनुमति प्राप्त हुँदै आएकोमा ट्रम्प प्रशासनको टीपीएस खारेजीको निर्णयसँगै ती आप्रवासीहरू या त आफै स्वदेश फर्कनुपर्नेछ या अमेरिकाले अवैध आप्रवासीसरह व्यवहार गरेर जवर्जस्ती स्वदेश फर्काउनेछ । टीपीएस वाहकले अमेरिकी अध्यागमन विभागसमक्ष आफ्नो स्थितिका बारेमा प्रत्येक वर्षजस्तो पुनः दर्ता गर्नुपर्ने हुन्छ । तर सो विभागले हाल पुनः दर्ताको प्रक्रियासमेत रोकेको छ । विगतका सरकार भने टीपीएस वाहकहरूप्रति नरम बन्दै आएको थियो । र, वाइडेन प्रशासनले केही समय अघि मात्र यस्ता विभिन्न देशका टीपीएसवाहकको म्याद छ महिनादेखि डेढ वर्षसम्म बढाएको थियो । वाल स्ट्रिट जर्नका अनुसार, अमेरिकी गृह सुरक्षा विभागकी सचिव क्रिष्टी नोमले त्यसरी बढाइएको निर्णय अनुचित भएको जिकिर गर्दै खारेज गरिएको जानकारी दिनुभएको थियो । अमेरिकी कानुन अनुसार, यस्ता टीपीएस वाहकको म्याद छ देखि डेढ वर्षसम्म थप्दै जानुपर्ने हुन्छ ।
प्राकृतिक विपत्ति, सशस्त्र द्वन्द्व र महामारी जस्ता कारणले आफ्नो देशबाट भागेर आएका वा ल्याइएका आप्रवासीहरूलाई अमेरिकाले अस्थायी रूपमा काम गर्ने गरी अनुमति टीपीएस दिने गरेको छ । राष्ट्रपति जर्ज डब्लु वुसको कार्यकालमा सन् १९९० मा इमिग्रेसन याक्टका रूपमा यो कानुन ल्याइएको हो । हाल विश्वका १७ देशका नागरिकलाई अमेरिकाले टीपीएस सुविधा दिएको र उनीहरू वर्षौवर्षदेखि काम गर्दै आएका थिए । तर ट्रम्प प्रशासनले यी सबै देशको सुविधा खारेज गरेको छ । हाल अमेरिकामा सर्वाधिक हैटीका नागरिकहरू टीपीएस वाहक छन् । वाइडेन प्रशासनले केही महिना अघि मात्र हैटीका आप्रवासीहरूलाई डेढ वर्ष म्याद थप गरेको थियो तर यो निर्णय पनि ट्रम्प प्रशासनले उल्टाएको छ ।
फेरि नेपालको कुरा
सन् २०१५ अर्थात् २०७२ सालको भूकम्पअघि गैर कानुनी रूपमा यहीँ बसोबास गरिरहेका नेपाली आप्रवासीहरूलाई अमेरिकाले टीपीएसको सुविधा दिएको थियो । त्यस यता थुप्रै नेपालीहरूले टीपीएसको फाइदा लिए । वर्षौँदेखि नेपाल जान नपाएकाहरू आफ्नो परिवार भेट्न नेपाल गए र फर्केर आए । केही नेपालीहरूले टीपीएसको स्ट्याटसबाट आफूलाई अर्कै स्ट्याटसमा परिवर्तन गरे । अहिले यो सङ्ख्या करिब सात हजार आठ सय रहेको बताइन्छ । अमेरिकाको अध्यागमन अदालतले तीन हजार पाँच सय नेपालीलाई देश निष्कासनको आदेश दिइसकेको छ र यीमध्ये करिब एक हजार पाँच सयले चाहिँ टीपीएस लिएको जनाइएको छ । अब नेपालको टीपीएसको म्याद जून २४ मा समाप्त हुँदै छ । त्यसपछि नेपालीहरू स्वदेश फर्कन्छन् वा अवैध तरिकाले यतै लुकिछिपी बस्छन् अहिले नै भन्न सकिने स्थिति छैन । तर पनि आइसको धरपकडका कारण उनीहरू बसे भने पनि त्यति सहज भने हुने छैन । (गोरखापत्र अनलाइन)