विद्यार्थी प्रकृति लम्सालको मृत्युबारे भारत सरकारको भनाइ

काठमाडौं । भारतको ओडिसास्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा एक सातापछि भारतीय विदेश मन्त्रालय बोलेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जैशवालले घटनाकबारे जानकारी प्राप्त भएदेखि नै ओडिसा सरकार, विश्वविद्यालयका अधिकारी र नेपालका अधिकारीहरूसँग पनि सम्पर्कमा रहेर कुराकानी भइरहेको दावी गरेका छन्।
प्रवक्ता जैशवालले भारत सरकार सबै अन्तरराष्ट्रिय विद्यार्थीहरूको सुरक्षा र कल्याणलाई उच्च प्राथमिकता दिने गरेको बताएका छन्। यसअघि भारतको नेपालस्थित दूतावास, भारतको ओडिसा राज्य सरकार तथा भारतको सत्ताधारी दलको विद्यार्थी संगठनले मात्रै बोलेका थिए। भैरहवाकी २० वर्षीया लम्साल विश्वविद्यालयको छात्रावासमा गत आइतवार मृत भेटिएकी थिइन्।
उनको मृत्यु शङ्कास्पद भन्दै अनुसन्धानका लागि प्रर्दशन गरेका नेपाली विद्यार्थीमाथि विश्वविद्यालय प्रशासनले धरपकड गरी निकालेको थिए। १६० जना विद्यार्थी रक्सौल भएर स्वदेश फर्किसकेका छन्। उनीहरूले त्रास कायमै रहेको बताएका छन्। उनीहरूले लम्सालको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने र विद्यार्थीहरूलाई निर्घात कुटिपिट गर्ने डीआई, होस्टेल वार्डेन, सेक्यूरेटी गार्डलगायतलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन्।