पृथ्वी राजमार्गको तनहुँ खण्ड एक महिनासम्म आंशिक बन्द

काठमाडाैं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर खण्ड एक महिनासम्म आंशिक रूपमा बन्द हुने भएको छ। मुग्लिन–पोखरा सडक योजनाको निर्माण कार्यलाई तीव्रता दिन आज (फागुन ९) देखि चैत ९ गतेसम्म उक्त खण्डमा यातायात आवागमनमा अस्थायी व्यवधान ल्याइनेछ।

बन्दीपुर–४ चुनपहरास्थित सडक निर्माणको कार्यलाई छिटो सम्पन्न गर्न यातायात व्यवस्था कार्यालय विमलनगरदेखि नयाँपुलसम्मको करिब ५०० मिटरको क्षेत्रलाई आवश्यकतानुसार ४५ मिनेटदेखि १ घण्टासम्म आंशिक रूपमा बन्द गरिने भएको छ।

मुग्लिन–पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार, साना सवारीसाधन तथा मोटरसाइकलका लागि वैकल्पिक मार्गको व्यवस्था गरिएको छ। वैकल्पिक रूपमा विमलनगर–मस्र्याङ्दी पुल–कुमाल गाउँ हुँदै नयाँपुल जोड्ने मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

त्यस्तै, ठूला सवारीसाधन चालकहरूलाई निर्धारित लेन अनुशासन कायम राख्न तथा ट्राफिक नियमको कडाइपूर्वक पालन गर्न आग्रह गरिएको छ। निर्माण कार्यलाई प्रभावकारी बनाउनका लागि यात्रु तथा चालकहरूलाई आवश्यक पूर्व तयारीसहित सहकार्य गर्न अनुरोध गरिएको छ।

सडक सुधारका क्रममा अस्थायी असुविधा भए तापनि आगामी दिनमा अझ सुरक्षित, सहज र स्तरीय मार्ग उपयोग गर्न सकिने विश्वास लिइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर