रवि लामिछानेविरुद्धको मुद्दामा थुनथेक बहस सुरु

काठमाडौं । रवि लामिछानेविरुद्धको मुद्दामा थुनथेक बहस सुरु भएको छ । चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा उनको मुद्दामा थुनछेक बहस सुरु भएको हो । चितवनको सहारा सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने हिजो आफैं अदालतमा हाजिर भएका थिए ।
हिजो नै बयान भएर थुनछेक बहस सुरु भएको उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीश ढकालको इजलासले लामिछानेलाई न्यायिक हिरासतमा पठाउने आदेश दिएको थियो ।
आज दोस्रो दिन थुनछेक बहस जारी रहेको छ । आज थुनछेक बहस सकिएमा अदालतले साधारण तारेख वा धरौटीमा छोड्ने अथवा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने निर्णय दिनेछ । सहकारी ठगी मुद्दामा लामिछाने यसअघि कास्की जिल्ला अदालत, काठमाडौं जिल्ला अदालत र रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका थिए ।
उनीसँग कास्की अदालतले ६५ लाख, काठमाडौंले ६० लाख र रुपन्देहीले १ करोड धरौटी मागेको थियो । लामिछानेविरुद्ध पर्सामा पनि सहकारी ठगी मुद्दा रहेको छ ।