बागमती प्रदेशमा प्रतिपक्ष र सत्तापक्षबिच राजनीतिक सहमति

काठमाडौं । प्राथमिकता हेरेर प्रतिपक्षका माग पूरा गर्ने सहमतिसहित बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबिचको सर्वदलीय बैठक सकिएको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको आह्वानमा मंगलबार साँझ बसेको सर्वदलीय बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले उठाएका मागहरु अनुकूलता हेरेर पूरा गर्दै लैजाने सहमति भएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रवक्ता लामिछानेले बैठक सौहार्दपूर्ण रुपमा सम्पन्न भएको बताए । संसद् पनि चलाउँदै लैजाने, बजेटमा सम्बोधन नभएका विषयमा अर्थ मन्त्रालयसँग समन्वय गरेर सहमतिको वातावरण निर्माण गर्ने, असोज ११ र १२ गते विपदका समयमा प्रतिपक्षी दलसँग गरिएको सहमति कार्यान्वयनमा लैजाने निर्णय भएको उनले बताए ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जमकट्टेलले आफ्ना मागका विषयमा छलफल मात्रै भएको सहमति भने नभएको बताए । आज बस्ने प्रदेशसभाको बैठकमा अवरोध भने नगर्ने उनले बताए । प्रदेशसभाको बैठका बुधबार बिहान ११ बजे बस्ने तय भएको छ । बुधबारको बैठकमा संसद सचिवालयमा दर्ता भएका विधेयक पेश गर्ने कार्यसूची रहेको सभामुख पाठकले जानकारी दिए । बैठकमा बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात दलमध्ये पाँच दलका नेताहरु सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर