रवि लामिछानेको निलम्बन तत्काल फुकुवा नगरे कानुनी उपचार खोज्ने : डा. वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेको निलम्बन तत्काल फुकुवा नगरे कानुनी उपचार खोज्ने बताएका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले संवैधानिक व्यवस्थाको बेवास्ता गर्दै लामिछानेलाई निलम्बन गरिएको उल्लेख गर्दै अब रास्वपाले यसको कानुनी निदान खोज्ने बताएका हुन् ।

लामिछानेमाथि सहकारी ठगी कसुरबाट सुरू भएको मुद्दा कहाँ पुर्‍याइयो भन्ने प्रश्नसमेत गरेका छन् । ‘कुनै पनि सहकारीबाट रकम झिक्ने प्रक्रियामा रवि लामिछानेको संलग्नता छैन तर आइसकेको रकम एउटा निजी कम्पनीमा आएपछि उनको जे दायित्व देखिन्छ मौजुदा कानुनअनुसार अघि बढाऊ भनेर संसदीय छानबिन समितिले भनेको छ,’ उनले भने, ‘सहकारी ठगी कसुरबाट सुरू भएको मुद्दा कहाँ पुर्‍याउनुभयो तपाईंहरूलेरु संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा । अरूका लागि खनेको खाल्डोमा आफै पर्छु कि जस्तो सांसदहरूलाई लाग्छ कि लाग्दैन ?’

उनले पार्टी सभापति रवि लामिछानेमाथि सिङ्गो राज्य खनिएको बताएका छन् । ‘पहिले थुन्ने अनि प्रमाण खोज्ने चरित्र पनि देखियो । तेरो सेँखी झार्ने नै हो भनेर लागियो। रवि लामिछानेमाथि अत्याचार गरिएको हो भन्ने कुरा स्थापित भइसक्यो,’ उनले भने ।

उनले अहिले देखिएका सबै काण्डहरूमाथि छानबिन हुनुपर्ने समेत माग गरे । अब पार्टीले त्यही विषय उठाउने उनले बताए । ‘भुटानीदेखि कम्बोडियासम्म, बालुवाटारदेखि गिरीबन्धुसम्म सबै काण्डको छानबिन हुनुपर्छ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर