रवि लामिछानेलाई थुनामा पठाउन सरकारी वकिलको जोड

काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने जोडिएको काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अहिले थुनछेक बहस जारी छ । न्यायाधीश माधव अधिकारीको इजलासमा बहस जारी रहेको हो । अहिले सरकारी वकिलले बहस गरिरहेका छन् । ११ जना सरकारी वकिलमध्ये हालसम्म ६ जनाले बहस सकेका छन् । अहिलेसम्म जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, सहायक जिल्ला न्यायाधिवक्ता चन्द्र सन्जेल, जिल्ला न्यायाधिवक्ता सन्तोषराज कटुवाल, बिना खड्का, राधिका सुवालले बहस गरेका छन् ।
सरकारी वकिलले बहसको क्रममा सहकारी पीडितलाई न्याय दिनका लागि लामिछानेलाई थुनामै पठाउनुपर्ने माग गरेका छन् । ‘सहकारी ठगी, सम्पत्ति शुद्धिकरण लगायतका मुद्दा छन् । प्रतिवादीलाई अहिले थुनाबाहिर राख्दा प्रमाण नष्ट हुने देखिन्छ, । कास्की अदालतको आदेश बिर्सिदिनुस् श्रीमान्, रवि लामिछानेलाई थुनामै पठाउनुपर्छ’ उनीहरुल्े भनेका छन् ।
अब बाँकी ५ जना सरकारी वकिलले बहस गरेपछि रविको पक्षमा बहस हुनेछ । प्रतिवादी लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र सुशील पन्तले बहस गर्नेछन्। न्यायाधीश अधिकारीले सरकारी वकिललाई २ घण्टा र रविपक्षका वकिललाई सवा घण्टाको समय दिएका छन् ।त्यसपछि पुनः सरकारी वकिलले जबाफी बहस गरेपछि न्यायाधीशले आदेश गर्नेछन्। आजै दुवै पक्षको बहस र जबाफी बहस सकिएको खण्डमा न्यायाधीशले आदेश गर्नेछन्।