चाँगुनारायण नगरपालिकामा कूल बजेटको १६.३७ प्रतिशत खर्च
भक्तपुर । चाँगुनारायण नगरपालिकाले चालू आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा कूल बजेटको १६.३७ प्रतिशतमामात्र बजेट खर्च गरेको छ ।
आज नगरपालिकाको १६ औं अधिवेशनमा यस्तो जानकारी दिइएको हो । प्रमुख जीवन खत्रीले चालू आर्थिक वर्षको दुई महिना बर्खा, लगत्तै चाडपर्व जस्ता कारणले आर्थिक वर्षको हालसम्ममा लक्ष्यअनुरुप प्रगति हासिल गर्न नसकेको जानकारी दिए । उनले बाँकी ७ महिनालाई लक्ष्य हासिल गर्ने उद्देश्यअनुरुप कार्यक्रम अगाडि बढाउने तय भएको बताए ।
नगरको चालू आर्थिक वर्षको कूल बजेट २ अर्ब १२ करोड ३० लाख ९३ हजार ६ सय रुपैयाँ रहेकोमा हालसम्ममा ३४ करोड ७७ लाख ३० हजार रुपैयाँ खर्च भएको उपप्रमुख रमेश बुढाथोकीले जानकारी दिए । उनका अनुसार नगरपालिकाको चालू खर्चतर्फ ९३ करोड ७६ लाख २१ हजार ५ सय रुपैयाँ विनियोजित भएकोमा हालसम्म ७ करोड १६ लाख ५५ हजार ३ सय रुपैयाँ र पूँजीगततर्फ १ अर्ब १८ करोड ५४ लाख ७२ हजार रुपैयाँ विनोयोजित ७ करोड ६० लाख ७५ हजार ५ सय रुपैयाँ खर्च भएको छ ।
नगरपालिकाले चालु आवमा ३६ करोड ६७ लाख २० हजार राजश्व संकलन गर्ने प्रक्षेपण गरिएकामा पौष २४ गतेसम्म १३ करोड ७ लाख ३७ हजार ५ सय अर्थात् करिब ३५.६ प्रतिशतमात्रै लक्ष्य हासिल गरेको उपप्रमुख बुढाथोकीले जानकारी दिए ।
उपप्रमुख बुढाथोकीले नगरपालिकाको विनियोजित ऐन २०८१ लाई संंशोधन गर्न बनेको विधेयक, विधायन समितिका संयोजक जयन्द्र खड्काले जग्गा विकास (प्लानिङ्ग) तथा हाउजिङ्ग निर्माण सम्बन्धी विधेयक, सामाजिक विकास समितिका संयोजक जनक खत्रीले खानेपानी व्यवस्थापन बोर्ड ऐन २०७७ को संशोधन विधेयक, सभा सदस्य सुरेश कार्कीले मेलमिलापकर्ताहरुको सुची अनुमोदनको लागि सभामा पेश गरेका थिए । त्यस्तै, सभामा सार्वजनिक महत्वका विषयमा छलफल भएको थियो ।