राप्रपाको माग : “०४६ सालदेखिको भ्रष्टाचारका फाइलहरू खोलौं”

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले उच्च पदस्थ राजनीतिक व्यक्ति र कर्मचारीको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गर्न माग गरेको छ। काठमाडौंमा जेठ १ गतेदेखि ३ गतेसम्म बसेको राप्रपाको केन्द्रीय समिति बैठकले २०४६ पछिका उच्च पदस्थ राजनीतिक लाभका पदमा रहेका व्यक्ति र कर्मचारीको सम्पती छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गर्न सरकारसँग माग गरेको हो। नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न पनि राप्रपाले माग गरेको हो।

बैठकको निर्णय जानकारी गराउँदै राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले क्यान्टनमेन्ट घोटाला, ललिता निवास जग्गा काण्ड, एनसेल प्रकरण, वाइडबडी काण्डलगायत विभिन्न कालखण्डमा भएका भ्रष्टाचार काण्डहरुको पनि फाइल खोल्न माग गरिएको बताए ।

उनले भने , “नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने जुन प्रपञ्च रचियो, त्यसमा फेला परेका सबै दोषी र अन्य दोषी समेतको खोजी, तलासी गरेर सशक्त कारबाही गर्नको लागि सरकारसँग माग गर्ने निर्णय गरेका छौँ। दोषीलाई कारबाही गर्ने नाममा विगतका ठूला ठूला भ्रष्टाचार काण्डमा दोषीहरुलाई विभिन्न बाहनामा उन्मुक्ति दिएजस्तै यो घटनामा पनि दोषीलाई उन्मुक्ति दिनु हुँदैन।”

उनले यो सामान्य ठगी मात्र नभइ राज्यविरुद्वको सङ्गठित अपराध भएको बताए । “भ्रष्टाचार निर्मूल पार्नका लागि क्यान्टोनमेन्ट घोटाला, ललिता निवास जग्गा काण्ड, एनसेल प्रकरण, वाइडबडी काण्डलगायत विभिन्न कालखण्डमा भएका सबै ठूला भ्रष्टाचार काण्डको फाइल खोलिनुपर्दछ र तत्काल छानविन प्रारम्भ हुनुपर्छ भन्ने माग गरेका छौं। २०४६ पछिका उच्च पदस्थ राजनीतिक लाभका पदमा रहेका राजनीतिक व्यक्ति तथा कर्मचारीको सम्पत्ति छानविन गर्न उच्च स्तरीय स्वतन्त्र नागरिक आयोग गठन गर्न पनि सरकारसँग माग गरेका छौँ”, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर