नेपालमा हिन्दू राष्ट्रको पक्षमा बोल्न भारतले पैसा बाँडेको अमेरिकाको आरोप

काठमाडौं । अमेरिकाले भारतको सत्तारुढ दल भारतीय जनता पार्टीसँग आबद्ध धार्मिक समूहले नेपाललाई हिन्दूराष्ट्रको पक्षमा बोल्न राजनीतिक दलका प्रभावशाली नेताहरूलाई पैसा दिने गरेको आरोप लगाएको छ ।

अमेरिकी विदेशमन्त्री एन्थोनी जे ब्लिंकेनले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदनमा नागरिक समाजका अगुवाहरूलाई उद्धृत गर्दै हिन्दूराष्ट्रका पक्षमा बोल्न नेपालका नेताहरूलाई पैसा दिँदै आएको आरोप लगाएको हो ।

‘नागरिक समाजका अगुवाहरूले उनीहरूले दक्षिणपन्थी भन्ने गरेको भारतको भाजपासम्बद्ध धार्मिक समूहहरूले सबै राजनीतिक दलका प्रभावशाली नेताहरूलाई हिन्दूराष्ट्रका समर्थनमा बोल्न निरन्तर रूपमा रकम उपलब्ध गराउने गरेका छन्,’ प्रतिवेदनमा भनिएको छ । उक्त अमेरिकी प्रतिवेदनको १३ पृष्ठमा नेपालको धार्मिक अवस्थाका बारेमा चर्चा गरिएको छ ।

‘नागरिक समाजका अगुवाहरूले भारतको हिन्दूराष्ट्रवादी सत्तारुढ भारतीय जनता पार्टी ९भाजपा० र भारतका अन्य हिन्दू समूहहरूले नेपालका राजनीतिज्ञलाई विशेषगरी राप्रपालाई हिन्दू राज्य पुनस्स्थापित गर्न निरन्तर रूपमा दबाब दिइरहेको छ,’ प्रतिवेदनमा उल्लेख छ । विभिन्न अनुसन्धान र समाचारमा आधारित भएर प्रतिवेदन तयार गरिएको अमेरिकाको दाबी छ । अमेरिकाले १९९८ मा पारित गरेको कानुनअनुसार अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रतासम्बन्धी प्रतिवेदन तयार पार्छ ।

प्रतिवदेनमा नेपालमा तिब्बती बौद्ध धर्मालम्बी नेताहरूले धार्मिक गतिविधि गर्न पछिल्लो वर्ष सहज भए पनि क्रिश्चियनलाई कठिनाइ बन्दै गएको जनाएको छ । प्रतिवदेनमा गौहत्याको विषयमा गरिएको विवरण दिँदै गत फेब्रुअरीमा बेलायती सांसदहरूको अनौपचारिक समूहले नेपालमा धार्मिक स्वतन्त्रता सम्बन्धमा जारी गरेको विश्लेषणलाई समावेश गरिएको छ । सो प्रतिवेदनमा नेपालमा फरक धर्म वा धार्मिक आस्था राख्नेहरुमाथि कानुनको अत्यधिक प्रयोग वा दुरुपयोग भएको उद्धृत गरिएको छ ।

यसैबीच अमेरिकी सरकारको प्रतिवेदनप्रति भारत सरकारले भने असन्तुष्टि व्यक्त गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागचीले धार्मिक स्वतन्त्रतासम्बन्धी प्रतिवेदन पक्षपातपूर्ण भनेका छन् । ‘यस्तो प्रतिवेदन भ्रामक सूचना र गलत बुझाइमा आधारित हुन्छ,’ बागचीले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर