बालकृष्ण खाँणलाई निलम्बन गर्न गगन थापाको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका जो कोहीलाई पनि कारबाही गर्नबाट पछि हट्नु नहुने बताए ।

काठमाडौंमा बुधबार आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस पार्टीबाट नाम जोडिएका नेता बालकृष्ण खाँणलाई पार्टीले तत्काल निलम्बन गर्नुपर्ने माग पनि उठाए ।

महामन्त्री थापाले भने, ‘‘अहिले एउटा प्रकरणको बहस चलिरहेको छ, प्रकरणका बारेमा पार्टीमा बहस भयो, प्रकरणमा पार्टीका नेता मुछिनुभयो । नेता मुछिसकेपछि विधिको शासन भएको ठाउँमा कानुनी प्रक्रियालाई सबैले विश्वास गर्नुपर्छ । अनुसन्धानबाट दोषी ठहरिन्छ भने बकाइदासँग दोषीले सजाय पाउनुपर्छ । यो खालको राष्ट्रविरुद्धको अपराध राजद्रोहमा अनुसन्धान निष्पक्ष हुनुपर्छ, जोजो मुसिन्छ सबैलाई कारबाही हुुनपर्छ । त्यसमा दायाँ बायाँ केही पनि हुनुहुँदैन ।’’

उनले कुनैपनि पदमा बसेको व्यक्ति अभियोग लागिसकेपछि निर्दोष नहुन्जेसम्म स्वतः निलम्बनमा पर्ने बताउँदै पार्टीको बैठकमा यसबारेमा छलफल भए पनि केही नेताहरुले पार्टीको परम्परा नरहेको भन्दै पन्छिन खोजेकाले परम्परा तोडेर भए पनि निलम्बन गर्न आवश्यक रहेको उल्लेख गरे । गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नु नहुने र पार्टीका नेताहरु भ्रष्टाचारी भए पनि पार्टी नै भ्रष्टाचारी हो भन्न नमिल्ने तर्क उनले गरे ।

‘‘एउटा कुनै पदमा जिम्मामा बसेको मान्छे, कतैपनि छ भने अभियोगमा लागेपछि त्यो स्वतः निलम्बनमा पर्छ । प्रमाणित भएन भने स्वतः आउँछ । यो आग्रह, पूर्वाग्रह होइन । केही साथीहरुले परम्परा छैन भन्नुभयो, यदी यो परम्परा छैन भने परम्परा तोड्नुपर्छ ।,’’ महामन्त्री थापाले भने, ‘‘गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नु हुँदैन । पार्टीका मान्छे भ्रष्टाचारी हुनसक्छ तर पार्टी भ्रष्टाचारी हुन सक्दैन । अहिले तत्कालै पार्टीले उहाँलाई निलम्बन गरी आफूबाट अलग राख्नुपर्छ । अनुसन्धानमा कतैपनि पार्टी कतै पनि देखिनु हुँदैन । जोसुकैमाथि जरा जहाँसम्म पुगेको भएपनि त्यो ठाउँसम्म कारबाही हुनुपर्छ ।’’

महामन्त्री थापाले लोक रिझ्याइँको राजनीति हावी भएको भन्दै मानिसलाई उचाल्ने काम भइरहेको बताए । उनले कांग्रेसलाई अब नेताबाट नागरिकमा फर्काउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर