भ्रष्टाचारको आरोपमा ११ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले भ्रष्टाचार गरेका आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल, वीरेन्द्र प्रसाद साह कानु, इन्जिनियर, उपभोक्ता समितिका अध्यक्षसमेत ८ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । उनीहरुविरुद्ध झुट्टा बिल भरपाई तथा गलत प्रतिवेदन तयार गरी गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ ।

मधेश प्रदेश सरकारको अनुदानबाट आ.व. २०७७/७८ मा संचालित योजनाहरुमा रकम निकासा गरी योजना सञ्चालन एवं सम्पन्न नै नगराई रकम हिनामिना गरेको उनीहरुविरुद्ध आरोप रहेको छ । बसबरियादेखि अमरपुर जाने बाटोमा माटो पुरी ग्राभेल निर्माण कार्यमा नगरपालिकाको कार्यालय र उपभोक्ता समितिबीच भएको सम्झौता बमोजिमको शर्त पालना नगरेको पाइएको छ ।

लागत अनुमानबमोजिम गर्नुपर्ने सबै कामहरु नगरी नभएको काम गरेको हो भनी नापी किताब र बिलसमेत तयार पारी कार्य सम्पन्न प्रतिवेदन प्रमाणित गरी झुट्टा बिल भरपाईसमेतका आधारमा १० लाख ८ हजार ९६५ रुपैयाँ भुक्तानी उनीहरुले लिएका थिए । सो बरारबको माग दाबीसहित आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

त्यस्तै, आयोगले सिम्रौनगढ नगरपालिका नगर कार्यपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसमेत ३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी एवं राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोप रहेको छ । उनीहरुसंग ९ लाख ९५ हजार बिगो माग गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर