नागढुंगा-मुग्लिन सडक : स्तरोन्नतिको काम सुरु

काठमाडौं ।  नागढुंगा–मुग्लिन सडक दैनिक तीन घण्टा बन्द गरेर स्तरोन्नतिको काम सुरु गरिएको छ । ढिलासुस्तीले उक्त सडक बेहाल अवस्थामा छ । पछिल्लो पटक थपिएको अवधि सकिन पचास दिन मात्रै बाँकी रहँदा नागढुंगा–नौविसे सडक निर्माणको भौतिक प्रगति ६१ प्रतिशत मात्रै छ ।

यसैगरी नौविसे–मलेखु सडक खण्डको निर्माण अवधि ६ महिना मात्रै बाँकी हुँदा भौतिक प्रगति जम्मा २५ प्रतिशत छ । मलेखुदेखि मुग्लिननसम्म पर्ने तेस्रो खण्ड निर्माणको काम त झन् १८ प्रतिशत मात्रै सकिएको छ । स्तरोन्नतिको क्रममा रहेको त्रिभुवन राजपथ र पृथ्वी राजमार्गको निर्माणको कामले गति लिन नसक्दा सो राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन समस्यामा परेका छन् ।

नागढुंगा–नौविसेसम्मको सडक निर्माण सुरु गरेको तीन वर्ष पुग्न लाग्दा सडक निर्माणको भौतिक प्रगति ६१ प्रतिशत मात्रै भएको छ । तोकिएको समयावधि अनुसार २०८१ जेठ महिनासम्ममा निर्माणको काम सम्पन्न गर्नुपर्ने थियो । समयमा काम नसकिएपछि आठ महिना थप गरेको समय पनि जम्मा पचास दिन मात्रै बाँकी छ । यो समय अवधीमा पनि सो खण्डको काम सकिने कुनै छाँट छैन । यसैगरी नौबिसे–मलेखुसम्मको सडक निर्माण २०७९ सालदेखि सुरु भएको हो । सो खण्डको निर्माण अवधि अब ६ महिना मात्रै बाँकी छ भौतिक प्रगति जम्मा २५ प्रतिशत मात्रै छ । यही गतिमा काम हुने हो भने अझै चार वर्षभन्दा धेरै समय लाग्ने छ ।

मलेखुदेखि मुग्लिनसम्म पर्ने तेस्रो खण्ड निर्माणको लागि तोकिएको समय अब करिब एक वर्ष मात्रै बाँकी छ । निर्माणको काम जम्मा १८ प्रतिशत मात्रै सकिएको छ । नागढुंगा–मुग्लिन सडक निर्माण आयोजनाका प्रमुख केशव ओझा भने सडक क्षेत्रमा पर्ने विद्युत पोल सार्ने काममा भएको ढिलाइ, वन क्षेत्रका रुख कटान र केही घरहरुको क्षतिपुर्ति दिन भएको विलम्बका कारण यस्तो अवस्था आएको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर