रवि लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहश

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध सोमवारदेखि कास्की अदालतमा थुनछेक बहश प्रारम्भ हुने भएको छ । लामिछानेविरुद्ध आइतवार दर्ता गरिएको सहकारी ठगी प्रकरण मुद्दामा आजदेखि बहश हुन लागेको हो । यसका लागि आज अदालतमा प्रथा गरिएपछि न्यायाधीशको बेन्च तय हुनेछ । सुनुवाइ सकिएपछि अदालतले लामिछानेलगायतलाई धरौटी अथवा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्नेबारे आदेश दिनेछ ।

सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, पूर्व डीआईजी छविलाल जोशीसहित ४४ जनालाई आइतवार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरिसकेको छ । लामिछानेविरुद्ध तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ । पाँच जनालाई भने बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ ।

लामिछाने र जीवी राईसहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरीद्वारा दुई महिनाभन्दा बढी समय लगाएर गरिएको अनुसन्धानको निष्कर्ष छ । सूर्यदर्शनको ५ करोड ४८ लाख निक्षेप गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको भेटिएको प्रहरीको दावी छ ।

लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच र सहकारी ठगीतर्फ तीन करोड ३७ लाख ६५ हजार बिगो दावीसहित मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले जनाएको छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा लामिछाने गत कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर