रुसी जेनरलको हत्या गर्न युक्रेनी जासुस कसरी मस्को पुगे ?
युक्रेनी गुप्तचरहरूले युक्रेनविरुद्ध युद्धमा संलग्न रुसका उच्च सैन्य अधिकारीहरूलाई “जहाँ भेटिन्छ त्यहीँ” कारबाही गर्न थालेको युक्रेनी सुरक्षा र गुप्तचर सेवामा रहेका स्रोतहरूले बीबीसी न्यूजसँग पुष्टि गरेका छन्।
त्यस्तो कारबाही रुसले कब्जा गरेका युक्रेनी भूभागमा, रुसभित्र र अरू देशमा पनि भएको वा हुन सक्ने उनीहरूले बताएका छन्। मस्कोमा एउटा विद्युतीय स्कूटरमा लुकाइएको बम विस्फोट हुँदा रुसका लेफ्टिनन्ट जेनरल इगोर किरिलोफ मारिएको घटनालाई सैन्य विशेषज्ञ तथा युक्रेनका भूतपूर्व गुप्तचर अधिकारी इभान स्तुपाकले इजरेली गुप्तचर निकाय ‘मोसाद’ले यसअघि हिज्बुल्लाहमाथि गरेको “पेजर आक्रमण “सँग तुलना गरेका छन्। “युक्रेनी गुप्तचर निकायले उनलाई गोली हान्ने, बमले उडाउने वा विष दिनेबारे एउटा निर्णय लिनुपर्ने थियो,” उनले भने।युक्रेनले औपचारिक रूपमा किरिलोफमाथि भएको आक्रमणबारे कुनै प्रतिक्रिया व्यक्त गरेको छैन।
युक्रेनी जासुसहरूको तारोमा को-को छन्
स्तुपाकका अनुसार युक्रेनविरुद्ध आक्रमणको योजना बनाउने, त्यसमा सहयोग गर्ने र सहभागी हुनेलाई सेक्युरिटी सर्भिस अफ युक्रेन (एसबीयू)ले “उपयुक्त निसाना” ठान्छ। युक्रेनी गुप्तचर निकाय ‘जीयूआर’ले प्रकाशित गरेको लक्षित व्यक्तिहरूको सूचीमा रुसी जेनरलहरू र युक्रेनी सहरहरूमा आक्रमण गर्ने रुसी वायुसेनाका कमान्डरहरूसहित रुसी सेनाका अन्य कमान्डरहरू छन्।
युक्रेनी गुप्तचर निकायले आक्रमणको निर्णय लिनुअघि निसानामा रहेका व्यक्तिमाथि आक्रमण गर्न नजिकै पुग्न सकिन्छ वा सकिँदैन र ती व्यक्तिको महत्त्व कति छ भनेर आकलन गर्छ। “यो उच्च व्यावसायिक काम हो। यस्तो कारबाही दक्ष मानिसहरूको समूहले गर्छ,” उनले बीबीसीसँग भने।
“उनीहरूले ती जेनरलले कुनै हतियार बोक्छन् वा बोक्दैनन्, उनीसँग को हुन्छ र उनलाई रुसी सुरक्षा निकायले दिने पहरा हुन्छ वा हुँदैन भन्ने पत्ता लगाउँछन्।” यस्तो कारबाहीका लागि परिचालित व्यक्तिहरू कहिलेकाहीँ विस्फोटक पदार्थसहित पक्राउ पर्न पनि सक्छन् वा सडकमा राखिएका निगरानी क्यामराका कारण फन्दामा पर्न पनि। उनीहरूले आफू सुरक्षित र तत्कालै घटनास्थलबाट भाग्ने रणनीति बनाएका हुन्छन्।
“यस्तै किसिमको एउटा कारबाहीको नेतृत्व गरेका एक गुप्तचरले मलाई भनेअनुसार आफ्ना मानिसहरूलाई कारबाहीमा पठाएपछिको २० मिनेट उनलाई तीन दिनजस्तै लामो महसुस भएको थियो। त्यो निकै खतरनाक थियो र त्यसमा सहभागी सबै जना डराएका थिए।”
सुराक र भ्रामक सूचना
रुसको विकिरण, रासायनिक तथा जैविक सुरक्षा फौजका प्रमुख लेफ्टिनन्ट जेनरल इगोर किरिलोफलाई युक्रेनी सुरक्षा निकायले निसाना बनायो। पूर्वी र दक्षिणी युक्रेनस्थित युद्धमोर्चाहरूमा प्रतिबन्धित रासायनिक अस्त्रहरूको अत्यधिक प्रयोग गरेको अभियोगमा एसबीयूले ५४ वर्षीय किरिलोफविरुद्ध किएभस्थित एउटा अदालतमा सोमवार मुद्दा हालेको थियो।
उक्त निकायले ती जेनरलको नेतृत्वमा रुसले ४८,००० पटक भन्दा धेरै रासायनिक अस्त्रहरूको प्रयोग गरेको दाबी गरेको छ। युक्रेनमा रासायनिक अस्त्र प्रहार गर्ने कामको नेतृत्व गरेको र क्रेम्लिनबाट भ्रामक सूचना फैलाउने कामका प्रवक्ता बनेको आरोप लगाउँदै किरिलोफलाई अक्टोबरमा ब्रिटिश सरकारले यूकेमा प्रवेश गर्न प्रतिबन्ध घोषणा गरेको थियो। मस्कोले त्यस्तो आरोपको खण्डन गर्दै आएको छ।
किरिलोफले युद्ध सुरु भएयता युक्रेनविरुद्धको एउटा सबैभन्दा कुख्यात भ्रामक सूचनाको अभियान रचेका थिए। रुसविरुद्ध पश्चिमा देशहरूले जैविक हतियार प्रयोग गर्न लागेको आरोप लगाएका कारण उनी विश्वभरि चिनिन्छन्। “पेन्टागनले केही साना जनावरहरू जम्मा गरेर त्यसमार्फत एचआईभी र हेपाटइटिस बी”को सङ्क्रमण रुसमा फैलाउन खोजेको र “लडाकु लामखुट्टे” रुसमा छोडेर कैयौँ भाइरसहरू फैलाउन खोजेको दाबी किरिलोफले गरेका थिए। उनले अमेरिकामाथि “भाइरसहरूमा म्यूटेशन गराएर नयाँ महामारी” फैलाउन खोजेको आरोप पनि लगाएका थिए।
किरिलोफले अमेरिकाले पहिलाको सोभियत सङ्घका कैयौँ देशहरूमा जैविक प्रयोगशालाहरू स्थापना गरिरहेका कतिपय आधारहीन आरोपहरू पनि लगाएका थिए। उनले कोभिड-१९ महामारीको उत्पत्तिबारेको अनुसन्धानमा पनि अवरोध गरेको आरोप अमेरिकामाथि लगाएका थिए। उनले जति रुसी सेनाका अन्य एकाइका कुनै प्रमुखले पत्रकारहरूसँग कुरा गरेको छैन। मङ्गलवार पनि किरिलोफले अर्को पत्रकार सम्मेलन आयोजनाको तयारी गरेको सञ्चारमाध्यमहरूले जनाएका छन्।
पुटिनका लागि अप्रिय घटना
युक्रेनी सुरक्षा निकायस्थित विश्वस्त सूत्रका अनुसार रुसको राजधानी मस्कोमा किरिलोफविरुद्ध गरिएको आक्रमणपछि युक्रेनी गुप्तचरहरू सुरक्षित रूपमा त्यहाँबाट बाहिरिएका थिए। साधरणतया गुप्तचर निकायले आफ्ना एजेन्टहरू जोखिममा पर्न सक्ने कुरालाई दृष्टिगत गर्दै यस्ता घटनामा आफ्नो संलग्नता रहेको घोषणा गरिहाल्दैनन्। रुसी जेनरलको हत्या भएको अघिल्लो दिन रुसको रक्षा मन्त्रालयमा भएको बैठकमा राष्ट्रपति भ्लादिमिर पुटिन र रक्षामन्त्रीले युक्रेन युद्धमा कसरी रुसी सेना विजयोन्मुख भएको भन्दै त्यस विषयमा चर्चा गरेका थिए।
किरिलोफको हत्या भएको दिनको भोलिपल्ट पुटिन टेलिभिजनमा एउटा वार्षिक संवाद कार्यक्रममा सहभागी हुने तय थियो। त्यसमा पुटिन र उनका रक्षामन्त्रीले सबै कुरा राम्ररी अघि बढेको र र पश्चिमा प्रतिबन्धले देशको विकासमा सहयोग नै पुगेको दाबी गर्ने ठानिएको थियो। युक्रेनी गुप्तचर निकायका पूर्वअधिकारी स्तुपाक रुसी जेनरलको हत्याले युद्धको अग्रमोर्चामा भने कुनै पनि परिवर्तन नल्याउने ठान्छन्। यसले बरु किएभविरुद्ध रुसले गर्ने प्रत्याक्रमण बढ्न सक्ने उनको ठम्याइ छ। “यो रूसका लागि धक्का चाहिँ हो। रुसी गुप्तचर अधिकारीहरूले रातभरि अनिदो बस्नुपरेको हुन सक्छ। उनीहरूका हाकिमले मस्कोमै यो कसरी सम्भव भयो भनेर सबैलाई एउटै प्रश्न गरिरहेका हुन सक्छन्।”(बीबीसी न्यूज नेपाली)