भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता र माइतीघरमा प्रदर्शन

काठमाडौं । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित भएको २१ वर्ष पूरा भएको अवसरमा आज देशभर ‘भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहका साथै भ्रष्टाचारविरुद्ध तथा सुशासनका पक्षमा क्रियाशील विभिन्न सामाजिक सङ्घ संस्थालेसमेत विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाएका छन् ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा नेपालमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायमका लागि भएका प्रयास तथा उपलब्धिबारे गम्भीर समीक्षाको खाँचो आँैल्याइएको छ । सोही उपलक्ष्यामा ट्रान्सपरेन्सी इन्टरनेशनल लगायत संस्थाको अगुवाइमा काठमाडौंको माइतीघरस्थित सडकमा भ्रष्टाचार विरुद्धको अभियानप्रति ऐक्यबद्धता जाहेर गर्दै आज बिहान १० देखि ११ बजेसम्म एक घण्टा प्रदर्शन गरियो ।
नागरिक समाजका अगुवा, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिका साथै ट्राफिक प्रहरीबाट समेत ऐक्यबद्धता प्रकट गरिएको उक्त प्रदर्शनीमा न्याय निसाफमा हुने आर्थिक मोलमोलाइले देशलाई खोक्रो बनाउने विषय प्लेकार्डमा उल्लेख गरिएको थियो ।
त्यस्तै, भ्रष्टाचार नियन्त्रण गर्ने अभियानमा पीडित जनता अब आफै सक्रिय हुनुपर्ने तथा भ्रष्टाचार घातक रोग भएकाले यसको अन्त्य गरिनुपर्ने विषय त्यस अवसरमा प्लेकार्ड प्रस्तुत गरियो । ट्रान्सपरेन्सी इन्टरनेशनल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन, महालेखा परीक्षकको प्रतिवेदनजस्ता सरकारी निकायकै आधिकारिक दस्तावेज र तथ्य–तथ्याङ्कले मुलुकमा भ्रष्टाचार बढिरहेको देखाएको छ ।तथापि, तीनै तहका सरकार तथा सरोकारवाला निकायसमेत भ्रष्टाचार घटाउन र सुशासन कायम विभिन्न पाटाबाट भगिरथ प्रयास गरिरहेका छन् ।