विवाहपञ्चमी महोत्सवः आज जानकीको मटकोर गरिँदै
काठमाडौं । साताव्यापी विवाह पञ्चमी महोत्सवको आज पाँचौ दिन अर्थात् मटकोर विवाहको अघिल्लो दिन गरिने विधि हर्षोउल्लासका साथ मनाइने भएको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित गंगा सागरमा प्रत्येक वर्ष झैं यसवर्ष आज साताव्यापी विवाह पञ्चमी महोत्सवअन्तर्गत मटकोर विधि गरिने भएको हो ।
बाजागाजा सहित भव्य रुपमा जनकपुरको धार्मिक तथा ऐतिहासिक गंगा सागरमा पुगेर राम र जानकीको मिथिला परम्परा अनुसार मटकोर गर्ने गरिन्छ ।
पाँचौ दिन मनाइने मटकोर विधिमा प्रतीकात्मक सीतालाई नुहाउने कार्य गरिनेछ भने त्यसै समय औकरी अर्थात पानीमा भिजाएको चना बाँड्ने कार्य गरिनेछ । मटकोरमा राम र सीताको प्रतिकात्मक रुप बनाइएका बालबालिकालाई मटकोरको विधि पुरा गर्ने गर्दछन् । मटकोरमा उपस्थित सयौं नरनारीले मटकोर गीत गाउने गर्छन् ।
गंगा सागरमा नित्यदिन साँझ हुने गंगा महाआरती मटकोरको उपलक्ष्यमा दिउँसै हुने गर्दछ । मटकोर सकिए पछि शुक्रबार जनकपुरमा भगवान राम र जानकीको डोला फेर गरी स्वयम्बर र विवाहको काम हुने छ ।
आइतबारदेखि सुरु भएको साताव्यापी विवाह महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लिला, तोस्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौं दिन मटकोर र छैठौं दिन शुभ विवाह हुन परम्परा छ । यस्तै, सातौं दिनमा रामकलेवा (विवाहमा सहभागी साधुसन्तलाई विभिन्न थरीका व्यञ्जनको भोजन) पछि विवाह महोत्सव सम्पन्न हुनेछ ।