ट्रम्पको हमासलाई गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई बन्दीहरूलाई रिहा नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमार्फत बन्धकहरूलाई तत्काल रिहा गर्न भनेका छन् ।
उनले बन्धकहरूलाई जनवरी २० सम्म रिहा नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुकी पत्नी सारासँगको भेटपछि ट्रम्पको भनाइ आएको हो । साराले आइतबार फ्लोरिडाको ट्रम्प अन्तर्राष्ट्रिय गल्फ कोर्समा ट्रम्पलाई भेटेकी थिइन् । दुवैले सँगै डिनर पनि गरेका थिए । यस क्रममा साराले ट्रम्पसँग गाजा युद्ध र बन्धकहरूको रिहाइबारे छलफल गरेकी छन् ।
अक्टोबर ७, २०२३ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । जसमा झन्डै ११ सय भन्दा धेरै इजरायली नागरिक मारिएका थिए । हमासले २५१ इजरायली नागरिकलाई बन्धक बनाएको थियो । यीमध्ये केही बन्धकको मृत्यु भइसकेको छ । अझै पनि ९७ बन्धक हमाससँग रहेको विश्वास गरिन्छ । तर, इजरायली सेनाका अनुसार यीमध्ये पनि ३५ बन्धकको पनि मृत्यु भइसकेको छ ।