जनकपुर बोल्ट्स र विराटनगर किङ्स उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दै

काठमाडौं ।  नेपाल प्रिमियर लिगका आठ फ्रेन्चाइज टोलीका कप्तानले पहिलो संस्करणका खेलका लागि आफू उत्साहित रहेको बताएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा सबै फ्रेन्चाइज टोलीका कप्तानले एनपिएलको आयोजनालाई लिएर आफू उत्साहित रहेको बताएका हुन्।

शनिबार जनकपुर बोल्ट्स र विराटनगर किङ्सले एनपिएल उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दैछन्। उद्घाटन अगाडि भएको पत्रकार सम्मेलनमा सबै फ्रेन्चाइज टोलीका कप्तानले एनपिएल आयोजना हुनु एक्सपोजरको राम्रो माध्यम रहेको र जहाँ आफूहरूले खेल्न उत्साहित रहेको धारणा राखे।

जनकपुर बोल्ट अनिल साहको कप्तानीमा उत्रँदैछ भने विराटनगरको कप्तानी सन्दीप लामिछानेले गर्नेछन्। ग्लोवल स्टारको छवि बनाएका विराटनगरका कप्तान सन्दीपले विभिन्न देशमा फ्रेन्चाइज खेल्दा आफ्नो देशमा पनि विश्वका स्टारसहित राम्रो फ्रेन्चाइज लिग होस् भन्ने चाहना रहँदै आएको र जुन अहिले पूरा भएको बताए। उनले यसअघि नेपालमा भएका फ्रेन्चाइज क्रिकेटको योगदान पनि भुल्न नहुने उल्लेख गरे। लेग स्पिनरसमेत रहेका सन्दीपले पहिलो खेलमा जित निकाल्ने लक्ष्यका साथ उत्रने पनि बताए। यता, जनकपुर बोल्ट्सको मार्की खेलाडी असिफ सेख हुन्।

जनकपुर बोल्ट्सले अनिललाई कप्तानी जिम्मेवारी दिएको छ। मार्कीलाई कप्तानी जिम्मेवारी नदिने जनकपुर एक्लो टोली हो। कप्तान अनिलले आसिफकै सल्लाहपछि आफू कप्तान बनेको स्पष्ट पारे। उनले केही दिन काठमाडौंमा तयारीसँगै अभ्यास खेल पनि खेलेको र टोली सन्तुलित रहेको बताएका छन्।

विराटनगर र जनकपुरबिच शनिवार १२ः१५ खेल हुनेछ। जनकपुरले न्युजिल्याण्डका जिमी निसमजस्ता चर्चित र अनुभवी क्रिकेटर भित्राएको छ। विराटनगरसँग ग्लोबल स्टार सन्दीपसँगै न्युजिल्याण्डकै मार्टिन गप्टिलजस्ता आक्रामक ब्याट्सम्यान छन्। त्यसैले पहिलो खेल रोमाञ्चक हुने आशा गरिएको छ। शुक्रबार पत्रकार सम्मेलनमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले आफ्नो टोलीमा युवा खेलाडीको बाहुल्यतासँगै शिखर धवन र बाबर हयात स्टारको साथले राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे।

लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले करिव ६/७ दिनको तयारी गरेको र आफ्नो टोली पनि सन्तुलित रहेकाले राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे। साथै उनले देशमा एनपिएल आयोजनालाई लिएर राम्रो माहोल बनेको र भविष्यमा यसले छुट्टै उचाइ लिने धारणा राखेका छन्। अन्तर्राष्ट्रिय ब्रोडकास्टर र अनुभवी खेलाडीको आगमनले एनपिएललाई नयाँ उचाइमा पुर्‍याउने उनको विश्वास थियो। काठमाडौं गुर्खाजका कप्तान करण केसीले यो एनपिएल युवा खेलाडीलाई आफ्नो ट्यालेन्ट देखाउने राम्रो माध्यम बन्ने विश्वास व्यक्त गरे। साथै उनले आफ्नो टोलीले राम्रो तयारी गरिरहेको पनि बताएका छन्।

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले टोलीको तयारी राम्रो भएको र १/२ वटा अभ्यास खेल पनि खेलेकाले राम्रो प्रदर्शन गर्ने बताए। साथै उनले एनपिएललाई लिएर सबै खेलाडी उत्साहित रहेको उल्लेख गरे।

चितवन राइनोजका कप्तान कुशल मल्लले आफूहरू खेलका लागि उत्साहित रहेको बताए। पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले पोखरामा नै ८/९ दिन अभ्यास गरेको बताए। साथै उनले अभ्यास खेलमा पनि राम्रो भएको र खेलका लागि सबै खेलाडी उत्साहित रहेको उल्लेख गरे। सो अवसरमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले एनपिएलको आयोजनासँगै नेपाली क्रिकेटले नयाँ उचाई लिने विश्वास व्यक्त गरे।

आगामी पुष ६ गतेसम्म हुने एनपिएलमा कुल ३२ खेल सञ्चालन हुनेछन्। इन्डियन प्रिमियर लिग (आइपिएल) को टोली चेन्नाई सुपर किङ्समा प्रशिक्षण गरेका राजिव कुमार गरी भारत तीन, नेपालका तीन प्रशिक्षक, आयरल्याण्ड र श्रीलंकाका समान एक जना प्रशिक्षकले फ्रेन्चाइज टोलीको प्रशिक्षण गरिरहेका छन्।

त्रिविमा अध्ययनरत विद्यार्थीलाई टिकट मूल्यमा छुट

नेपाल प्रिमियर लिग (एनपीएल)मा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीले टिकट मूल्यमा छुट प्रदान गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । क्यानका अनुसार त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने खेलमा त्रिवि विश्वविद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई ५० प्रतिशत छुट दिने जानकारी दिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर