रविको बयान नसकिएकाले काठमाडौं प्रहरी हिराशतमै रहने
काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा कास्कीबाट काठमाडौं ल्याइएका रास्वपाका सभापति रवि लामिछानेसँग बयान लिने काम आज बिहीबार अपराह्नसम्म पनि नसकिएको प्रहरीले जनाएको छ । आज उनले करिब साढे ६ घण्टा लामो बयान दिएका छन्।
पोखराबाट हिजो बिहीबार साँझ काठमाडौं ल्याइएका लामिछानेको बयान नसकिएकाले कम्तीमा आइतबारसम्म काठमाडौंमै रहने भएको प्रहरीको भनाइ छ । जिल्ला सहकारी वकिलको कार्यालय काठमाडौंमा उनीसँग बयान लिइएको थियो । अब उनको बाँकी बयान आइतबार लिइने छ।कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीबाट जिबी राई र लामिछानेले लाखौँ रकम लिएको प्रमाण भेटिएको छ । बुझिलिनेको हस्ताक्षर नभएका र सहकारीको छाप नभएका दुई कागजात फेला परेका छन्।
त्यसमा स्वर्णलक्ष्मी चार पांग्रे सवारी कर्जा भनी ४६ लाख ४८ हजार र ४६ लाख ९८ हजार रुपैयाँ ऋण लिएको उल्लेख छ। त्यसरी लिइएको रकम गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको आरोप उनीहरूमाथि लागेको छ। स्वर्णलक्ष्मी सहकारी ठगीमा ६८० जनाको जाहेरीमा एक अर्ब ११ करोड ८५ लाख ३८ हजार ४८८ रुपैयाँ बिगो दाबी गरिएको छ। त्यसमा २४ जना प्रतिवादी छन्। तीमध्ये छवि, रवि, रम्तेल, सुनिता नेवास् र कमल लामा पक्राउ परेका छन्। यसमा सञ्चालक जिबी राई भने फरार छन्।