मृत्युपछि मानव अङ्ग दान गर्नेलाई दुई लाख दिने निर्णय
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मृत्युपश्चात् मानव अङ्ग दान गर्न चाहने दाताका परिवारलाई दुई लाख सहयोग गर्ने निर्णय गरेका छन् । यसअघि मानव अङ्ग दान गर्न चाहने त्यस्ता परिवारलाई एक लाख रुपैयाँ दिने गरिएको थियो । भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने गरिएकामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दाताका परिवारलाई १ लाख थप गर्ने निर्णय भएको मन्त्री पौडेलले जानकारी दिए ।
मन्त्री पौडेलको निर्णय कार्यान्वयन गर्न अर्थ मन्त्रालयले आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरी सहमति दिएको छ । मन्त्रालयको आन्तरिक स्रोतबाटै आवश्यक रकम व्यवस्थापन गर्ने गरी निर्णय गरिएको मन्त्री पौडेलले बताए । अङ्ग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजार रुपैयाँमा मन्त्रालयले २५ हजार रुपैयाँ थप गरेर ७५ हजार रुपैयाँ पुर्याएको छ ।
‘‘आफ्नो मृत्युपछि अरूको जीवन बचाउन चाहनेलाई प्रोत्साहन गर्न खोजेका हौं’, मन्त्री पौडेलले भने, ‘‘एउटाको जीवनपछि अरूको जीवन बचाउने कार्यमा यस निर्णयले व्यापकता पाउने आशा गरेका छौं ।’’ मन्त्री पौडेल स्वयंले यसअघि नै अङ्गदान गर्ने घोषणा गरिसकेका छन् । देशभर हरेक वर्ष मिर्गौला प्राप्तिका लागि एक हजार र कलेजो प्राप्तिका लागि ५५ जनाले मानव अङ्ग प्रत्यारोपण केन्द्रमा नाम लेखाउने गरेका छन् । विद्यमान कानुनी व्यवस्थाअनुसार जीवित रगतको नाता पर्नेबाहेकले अङ्गदान गर्न पाउँदैनन् । तर, मृत्युपश्चात् दान दिने गरी अङ्गदान गर्न पाउने व्यवस्था छ । मृत्यु भएको २४ घण्टाभित्र दिन सकिने अङ्ग अरू जीवितलाई प्रत्यारोपण गर्न सकिन्छ ।
हाल नेपालमा मिर्गौला र कलेजो मात्र प्रत्यारोपण गर्ने गरिए पनि अब फोक्सो र मुटुका लागिसमेत प्रत्यारोपण गर्ने गरी क्षमता विकास गर्ने तयारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरिरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।