प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा हिमपात

काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा हिमपात भएको छ । तीन हजार ७९४ मिटर उचाइ रहेको पाथीभरा क्षेत्रमा यसवर्ष पहिलो पटक हिमपात भएको हो । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार बुधबार राति १२ बजे पछिदेखि सामान्य हिमपात सुरु भएको हो । पाथीभरा धाम परिसरभन्दा केही तलसम्म हिउँ परेको महतले जानकारी दिए । उनका अनुसार अहिले पनि पाथीभरा क्षेत्रमा छार्के अर्थात् फाटफुट्ट हिमपात भइरहेको छ ।

पाथीभरा क्षेत्रमा कुनै वर्ष असोज महिनामै हिमपात हुने गरेको थियो । यसवर्ष भने बुधबार राति पहिलो पटक हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताए । हिमपातको मौसम सुरु भएकाले पाथीभरा दर्शन गर्ने भक्तजनलाई आफ्नो स्वास्थ्यलाई समेत दृष्टिगत गर्न अर्थात् चिसो समयमा अपनाउनुपर्ने स्वास्थ्य सावधानीबारे ध्यान दिन आग्रह गरेका छन् । जल तथा मौसम विज्ञान कार्यालय धरान, ताप्लेजुङ फिल्ड कार्यालयका अनुसार बिहीबार बिहानको यहाँको न्यूनतम तापक्रम १०.२ डिग्री सेल्सियस मापन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर