मंसिर महिनाका लागि वाणिज्य बैंकको ब्याजदर सार्वजनिक
काठमाडौं । मंसिर महिनाका लागि ८ वटा वाणिज्य बैंकले निक्षेपमा प्रदान गर्ने अधिकतम ब्याजदर स्थिर राखेका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये एउटाले बढाउँदा ८ वटाले यथावत राखेका हुन् । हिमालयन, एभरेष्ट, प्रभु, नेपाल, सिद्धार्थ नेपाल एसबीआई, सानिमा र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ब्याजदर घटबढ नगरेका हुन् । मंसिरका लागि राष्ट्रिय वाणिज्य बैंकले भने कात्तिकको भन्दा ब्याजदर बढाएको हो । अरु बैंकले ब्याजदर घटाएका छन् । यसरी व्यक्तिगत निक्षेपमा बैंकहरुले दिने अधिकतम ब्याजदरको औसत ५.९७ प्रतिशत कायम भएको छ । यो औसत कात्तिकको औसतभन्दा ०.२१७ प्रतिशत बिन्दु कम हो ।
मंसिरका लागि हिमालयन बैंकले निक्षेपमा अधिकतम वार्षिक ६.२५ प्रतिशत ब्याज दिनेछ भने एभरेष्टले ६, प्रभुले ६.१, नेपालले ५.९५, सिद्धार्थले ६, नेपाल एसबीआईले ६, सानिमाले ६.१५ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ६.५ प्रतिशत यथावत राखेका हुन् ।
राष्ट्रिय वाणिज्य बैंकले भने यस्तो दर ५.८ प्रतिशतबाट बढाएर ६ प्रतिशत बनाएको हो । नयाँ ब्याजदरअनुसार निक्षेपमा सबैभन्दा बढी ब्याज दिने बैंक एनआईसी एशिया बनेको छ । एनआईसीले अधिकतम ६.७९ प्रतिशत ब्याज दिनेछ । सबैभन्दा कम दिने बैंक भने लक्ष्मी सनराइन हो ।