देशमा बाह्य चलखेल तीव्ररुपमा बढेको छ : राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रमुख राजनीतिक दलहरुका सत्ता केन्द्रित क्रियाकलापका कारण मुलुक गम्भीर संकटतर्फ उन्मुख भएको बताएको छ।

काठमाडौंको धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबारबाट सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रमुख राजनीतिक दलहरुका सत्ता केन्द्रित क्रियाकलापका कारण मुलुक गम्भीर संकटतर्फ उन्मुख भएको बताएका हुन्।

उनले मुलुकका तीन प्रमुख अंगहरुका बीच रहनुपर्ने शक्ति नियन्त्रण र सन्तुलनको व्यवस्था ध्वस्त भएको जिकिर गरे। कमजोर अर्थतन्त्र, बढ्दो युवा बेरोजगारी, राज्यका सबै अंगमा भ्रष्टाचार र भ्रष्टाचारमा प्रायः सबै प्रमुख राजनीतिक दलहरुको संलग्नता, वैदेशिक नीतिमा आएको असन्तुलन सामान्य अवस्था नरहेको राप्रपाको ठहर छ। वैदेशिक सम्बन्धलाई सत्ता आरोहणको रुपमा प्रयोग गर्ने आलोकाँचो व्यवहारका कारण नेपालको वैदेशिक सम्बन्ध पूर्ण रुपमा खल्बलिन पुगेको उनको टिप्पणी छ।

अध्यक्ष लिङदेनले आफूलाई अग्रगमनका संवाहक, लोकतन्त्रको पर्याय ठान्ने केही राजनीतिक दलका कारण देश संकटको भुमरीमा फसिरहेको उल्लेख गरे। अकर्मण्य नेतृत्व, गलत नीति अदूरदर्शिता र सत्ता लिप्साको प्रतिफल नेपालको राष्ट्रियता, राष्ट्रिय एकता अखण्डता, सार्वभौमिकता संकटग्रस्त बनेको उनले उल्लेख गरे।

देशमा बाह्य चलखेल तीव्ररुपमा बढेको, भ्रष्टाचारको चंगुलमा देश फसेको, लोकतन्त्रको आवरणमा नव सामन्तवाद र सर्वसत्तावाद हाबी भएको उनको भनाइ छ। विदेशीको आग्रहमा सम्पन्न १२ बुँदे सहमतिको मार्गचित्र गलत भएको प्रमाणित भएको उनले दाबी गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर