आत्मसमीक्षासहित जनताको घरमा जान प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आत्मसमीक्षासहित जनताको घरमा जान पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् । कीर्तिपुरमा बुधबार आयोजित उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्ष प्रचण्डले विगतमा कतिपय त्रुटि आफूहरुबाट समेत भएको स्मरण गराउँदै ठुला सभा तथा समारोहभन्दा जनताको घरमा गएर उनीहरुको समस्या सुन्नुपर्ने सुझाव दिए ।
उनले भने, “कीर्तिपुरमा एउटा कीर्तिमान कायम गर्नुपर्नेछ । विगतमा कतिपय त्रुटि र कमजोरी पनि गरेका छौं । ठुला सभा, समारोहभन्दा घर–घरमा, टोल–टोलमा जनतासँग भेटेर आफ्नो प्रतिबद्धता प्रस्तुत गर्नुहोला । त्यो अर्थपूर्ण रहन्छ । कीर्तिपुर नगरपालिकामा म विशेष निर्देशनसहित भन्न चाहन्छु, हामीले जनताको आवश्यकता र चाहना पूरा गर्न सकेनौं । हामीलाई अवसर दिनुस् भनेर जनताको घरमा जानूस् ।”
उनले पछिल्लो समय माओवादी नेतृत्वको सरकारले सुशासनका लागि प्रयास गरिएको कुरा सबैलाई जानकारी भएको उल्लेख गरे । उनले भने, “पछिल्लो समय सुशासनको पक्षमा माओवादी केन्द्र नेतृत्व सरकारले प्रयास गरेको देशभरी बुझिएको छ । नयाँ सरकार किन बन्यो भन्ने पनि जनतालाई थाहा छ ।” आगामी मंसिर १६ गते हुन गइरहेको स्थानीय उपनिर्वाचनमा कीर्तिपुरमा मात्रै नगरप्रमुख पदमा निर्वाचन हुन गइरहेको छ । यसका लागि माओवादी केन्द्रले नगरप्रमुखमा प्राडा शिवशरण महर्जनको औपचारिक उम्मेदवारी आजै बिहान घोषणा गरेको हो ।