अयोध्याबाट आउने जन्तीको भव्य र सभ्य स्वागतको तयारी
काठमाडौं । विवाह पञ्चमी महोत्सवका लागि भारतको अयोध्याबाट ५ सय बढी जन्ती जनकपुरधाम आउने भएका छन् ।
विवाह पञ्चमी महोत्सव तयारीका क्रममा जानकी मन्दिरमा आइतबार आयोजित सर्वपक्षीय बैठकमा सो जानकारी गराइएको हो । विवाह पञ्चमी महोत्सवबारे जानकारी दिँदै जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव मनाउन लागिएको र जनकपुरमा १७ गते अयोध्याबाट जन्ती आउने र २२ गतेसम्म जनकपुरमा बस्ने बताए । उनले जन्तीको स्वागतमा जनकपुरवासीले कुनै कमी नराख्ने बर अयोध्याबाट आउने जन्तीको भव्य र सभ्य स्वागत गर्ने बताए ।
उनले भने, ‘यसपाली विवाह पञ्चमी महामहोत्सवमा विगतको पाँच वर्षपछि यस वर्ष पनि विवाह महोत्सवमा विधिवत् जन्ती आउने कार्यक्रमहरू छ । यो २०६१ सालदेखि सुरु भएको हो । यो चौथो पटक हो । जसमा पाँच सयको हाराहारीमा जन्ती विभिन्न ठाउँमा बास बस्दै आउनु हुनेछ । जनकपुरमा १७ गते प्रवेश गर्नुहुन्छ । १८, १९, २०, २१ र २२ गतेसम्म जनकपुरमा उहाँहरू बस्नुहुन्छ । र जनकपुरवासीहरू स्वागतमा सम्पूर्ण तयारी गरिरहेका छौँ । सात दिवसीय कार्यक्रम रहेको छ । रामायणकालीन विवाह अवलोकन गराउँछौँ । भव्य र सभ्य स्वागतमा हामी कुनै कमी गर्दैनौँ ।’
विवाह पञ्चमी महोत्सवका लागि जनकपुरधाममा तयारी तीव्र बनाइएको छ । विश्व हिन्दु परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री राजेन्द्रसिंह पङ्कज, राम जन्म भूमि तीर्थ क्षेत्र ट्रस्टका चम्पत रायलगायतका व्यक्ति जन्तीमा सहभागी भएर आउन लागेको महन्थ दासले जानकारी दिए । अयोध्याबाट जन्तीको अगुवाई राम मन्दिर ट्रस्टका सचिव चम्पत रायले गर्ने बताइएको छ । जन्तीमा मनि राम छाउनीका उत्तराधिकारी महन्त कमलनयन दास, ऋषिकेषका महन्त डा. रामेश्वर दास, दिगम्बर अखाडाका महन्त, सतुवा बाबाको आश्रमका मुख्य महन्तलगायत ५ सय बढीको सहभागिता रहने बताइएको छ ।