आरोप-प्रत्यारोपबाट माथि उठ्न नसकेको अमेरिकी राष्ट्रपतीय चुनाव
काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र निर्वाचन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले शुक्रबार महत्त्वपूर्ण राज्यहरूमा एक–अर्कामाथि आरोप प्रत्यारोप लगाएका छन् । उनीहरू अस्थिर राष्ट्रपतीय दौडको अन्तिम दिनहरूमा एक नाटकीय स्प्लिट–स्क्रिन छविका रूपमा रहेको विस्कन्सिनको सबैभन्दा ठूलो शहरमा प्रतिस्पर्धी र्यालीहरूका लागि भेला भएका थिए ।
निर्वाचन हुने दिन नोभेम्बर ५ अघि राजनीतिक तापक्रम उच्च विन्दुमा पुग्दै गर्दा ट्रम्पले ह्यारिसका एक उच्च–प्रोफाइल रिपब्लिकन समर्थकलाई लक्षित गरेको हिंसात्मक वाक् प्रहारको आलोचनाको सामना गरे । यसका लागि ह्यारिसले उनको आक्रामक आक्रमणको आलोचना गरे ।
मङ्गलबाको मतदानअघि सात करोडभन्दा बढी अमेरिकीले पहिले नै मतदान गरिसकेका छन् । यो सन् २०२० को कूल मतको ४५ प्रतिशत हो । जनमत सर्वेक्षणले ट्रम्प र ह्यारिस बराबरीमा दौडिरहेको देखाउँछ । सात स्विङ स्टेटमा कसले जित्छ त्यसमा विजय निर्भर गर्छ । दुवैले पूरा दिन अभियान कार्यक्रमहरू गरे । ह्यारिसले विस्कन्सिनमा र्यालीहरू र युनियन हलको भ्रमण गरिन् भने ट्रम्पले छिमेकी महत्त्वपूर्ण राज्य मिशिगनमा मत माग्न प्रचार गरे ।
“हामीले विगत चार वर्षदेखि लड्दै आएका सबै कुरा अब आउने चार दिनमा निर्भर गर्छ”, ट्रम्पले मिशिगनस्थित वारेनमा समर्थकहरूसँग भने । शुक्रबारपछि प्रतिद्वन्द्वीहरूले मिल्भौकीमा केही माइल टाढा र्याली गरे । यहाँ ट्रम्पले गर्जिँदै भने, “म तपाईंहरूको पैसा चाहन्न, म तपाईंहरूको मत चाहन्छु ।”
पूर्वराष्ट्रपति ट्रम्पले उही स्थानलाई सम्बोधन गरिरहेका थिए जहाँ उनले गर्मीयाममा रिपब्लिकन पार्टीको मनोनयन जितेका थिए र पेन्सिल्भेनियामा हत्या प्रयासबाट बचेको केही दिनपछि विजयी स्वीकृति भाषण दिएको थियो ।
राष्ट्रपति जो बाइडेनले आफ्नो घट्दो मानसिक क्षमताको चिन्ताका बीच प्रतिस्पर्धा छोडेपछि जुलाईमा मात्र चुनावी दौडमा प्रवेश गरेकी ह्यारिस उच्च–ऊर्जा कार्यक्रमहरूको शृङ्ंखलामा पछिल्लो पटक स्टार र्यापर कार्डी बीसँग मञ्चमा सामेल भइन् । अमेरिकाकी सम्भावित पहिलो महिला राष्ट्रपतिका बारेमा कार्डी बीले भीडसँग सोधे “के हामी इतिहास बनाउन तयार छौँ र ?। ” यसअघि ह्यारिसले आफ्ना एक प्रमुख रिपब्लिकन आलोचकको बारेमा छलफल गर्दा ‘हिंसात्मक वाक् प्रहार प्रयोग गरेकामा ट्रम्पको भर्त्सना गरिन् ।
ट्रम्पले ‘पूर्वप्रतिनिधि लिज चेनीमाथि राइफल तान्नुपर्ने सुझाव दिनुभएको छ”, ह्यारिसले विस्कन्सिनस्थित मयाडिसनमा पत्रकारहरूलाई भनिन्, “यो अयोग्य हुनैपर्छ । जो कोही… जसले त्यस्तो हिंसात्मक वाक् प्रहार प्रयोग गर्छ, स्पष्ट रूपमा राष्ट्रपति बन्न अयोग्य र अनुपयुक्त छ ।”