तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदलीभई छिटपुट वर्षा भएको छ । मौसमविद् सञ्जिव अधिकारीले भाइटीकाको दिन हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिए । ‘आइतबार (भाइटीकाको दिन) कोशी प्रदेशको पहाडी भू–भागका एक दुई स्थान तथा तराईका केही भू–भाग, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्कादेखि मध्यसम्म वर्षाको सम्भावना छ, काठमाडौं उपत्यकामा पनि मौसम बदली भई हल्का वर्षा हुन सक्छ,’ उनले भने, ‘तर पानी परे पनि क्षणिक रूपमा पर्ने हो । कुनै पनि स्थानमा निरन्तर पर्दैन ।’
अधिकारीका अनुसार देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । महाशाखाले शुक्रबार साँझ जारी गरेको मौसमी बुलेटिन अनुसार पनि शनिबार साँझसम्म कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भू–भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
साता दिनपछि चिसो बढ्ने सम्भावना
अब एक सातापछि काठमाडौं उपत्यकालगायत देशैभर चिसो बढ्ने सम्भावना रहेको छ । जलवायु तथा विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले नोभेम्बर ९ पछि ३ डिग्री सेल्सियससम्म तापक्रम घटेर चिसो बढ्ने बताए । ‘भारतको मौसम विज्ञान विभागले नै अब नोभेम्भर ९ तारिकपछि चिसो बढ्ने सम्भावना रहेको पूर्वानुमान गरेको छ,’ उनले भने, ‘कहिले छिटो त कहिले ढिलो गरी चिसो शुरू हुन्छ, समान्यतया कात्तिकको अन्तिममा यहाँ पनि चिसो बढ्न शुरू हुन्छ ।’ शुक्रबार रातिसम्म काठमाडौंको तापक्रम १६ डिग्री सेल्सियस रहेको थियो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मुलुकका केही स्थानमा हल्का वर्षासमेत भएकाले चिसो शुरू भएको छ ।