चेन्नाईमाथि कोलकत्ताको सहज जित

काठमाडौं । कोलकत्ता नाईट राईडर्सले भारतमा जारी रहेको इन्डियन प्रिमियर लिग(आईपीएल)मा चेन्नाई सुपर किंग्सलाई पराजित गरेको छ ।

चेन्नाईको घरेलु मैदान एमए चेन्नास्वामीमा आईतबार भएको खेलमा कोलकत्ता ६ विकेटले विजयी भएको हो ।

चेन्नाईले दिएको १ सय ४५ रनको लक्ष्य कोलकत्ताले १८ दशमलब ३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

कोलकत्ताको जितमा कप्तान नितिश राणा र रिंकु सिंहले अर्धशतकीय ईनिङ्स खेले ।

राणाले ४४ बलमा ६ चौका र १ छक्काको सहयोगमा अविजित ५७ रन बनाए ।

सिंह ४३ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाए ।

पहिलो ओभरमा नै ओपनर रहमानउल्लाह गुर्वाजलाई व्यक्तिगत १ रनमा गुमाएको कोलकत्ताले दोस्रो विकेटका रुपमा वेंकटेस अय्यरलाई व्यक्तिगत ९ रनमा गुमाएको थियो ।

चौथो विकेटका लागि रिंकु सिंह र कप्तान नितिश राणाले ९९ रनको साझेदारी गरेर टोलीलाई जितसम्म पर्याउन योगदान गरे ।

चेन्नाईका लागि दीपक चहरले ३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो ।

चेन्नाईका लागि शिबम दुवेले ३४ बलमा १ चौका तथा ३ छक्काको सहयोगमा अविजित ४८ रन बनाए ।

डेभोन कन्वेले २८ बलमा ३ चौका ३० रन बनाए । रविन्द्र जडेजाले २४ बलमा २० रन बनाए ।

ऋतुराज गायकवाडले १३ बलमा २ चौकाको सहयोगमा १७ रन बनाए ।

कोलकत्ताका लागि वरुण चक्रवर्ती र सुनिल नारेनले समान २/२ तथा बैभब अरोरा र शार्दुल ठाकुरले समान १/१ विकेट लिए ।

जितसँगै तेह्र खेलमा ६ जित र ७ हारका साथ १२ अंक सहित कोलकत्ता सातौं स्थानमा रहेको छ ।

उता,तेह्र खेलमा ७ जित र ५ हारका साथ १५ अंकका साथ चेन्नाई दोस्रो स्थानमा कायमै रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर