क्रिकेटर सन्दीपको आक्रोश : एकाएक दर्जनौं अनफलो !

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले इन्स्टाग्राममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सबैलाई अनफलो गरेका छन् । पूर्व कप्तान समेत रहेका उनले सोमबार कुशल मल्ल बाहेक राष्ट्रिय क्रिकेट टोलीका सबै खेलाडीलाई अनफलो गरेका हुन् । लामिछानेको इन्स्टाग्राम फलोइङ सूची हेर्ने हो भने अहिले १० ओटा अकाउन्टलाई मात्र फलो गरेको देखिन्छ । त्यसमा पूर्व कप्तान पारस खड्का र शरद भेषवाकरको नाम समावेश छ ।
त्यस बाहेक उनले राष्ट्रिय टिममा नरहेका केही क्रिकेटर र अन्य अकाउन्टलाई पनि फलो गरेका छन् । अन्य नेपाली क्रिकेटरको फलोइङ लिस्ट हेर्ने हो भने अधिकांशले लामिछानेलाई फलो गरेको देखिन्छ । कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामीले पनि लामिछानेलाई फलो गरेका छैनन् । यही बीच विभिन्न किसिमका अनुमान गरी सामाजिक सञ्जालमा पोस्ट आइरहेका छन् । त्यसमा लामिछाने र अन्य क्रिकेटरबिच अहिले सम्बन्ध राम्रो नभएको लख धेरैले काटिरहेका छन् । लामिछानेले आइतबार बेलुका ७ः१७ मा फेसबुकमा एक पोस्ट राखे । त्यसमार्फत उनले ‘छिट्टै केही घोषणा’ गर्ने सङ्केत दिए ।
उक्त पोस्टमा कमेन्ट गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले थुप्रै अड्कल काट्न थाले । खासगरी अमेरिकामा जारी क्रिकेट वर्ल्डकप लिग टु सिरिज खेल्न नेपाली टोलीमा समावेश हुन अमेरिका पुगेका लामिछानेले एकाएक के घोषणा गर्न लागे भन्ने कौतूहलता धेरैलाई भयो । केहीले लामिछानेको पोस्टलाई गम्भीरतापूर्वक लिएर उनले क्रिकेटबाट संन्यास लिन लागेका हुन् कि भन्ने लख काटे । अनि कतिपयले केही राम्रो समाचार आउने आशा व्यक्त गरे ।
यसअघि पनि लामिछानेले आफ्ना सबै सामाजिक सञ्जालका अकाउन्ट डिएक्टिभेट गरेका थिए । त्यसको केही दिनमा उनी सामाजिक सञ्जालमा पुनः सक्रिय भए । तर, अकाउन्ट डिएक्टिभेट गर्नुको कारण भने कहीं खुलाएनन् । आशा गरौं उनले ‘केही घोषणा गर्ने’ विषय र टिममेटहरूलाई इन्स्टाग्राममा अनफलो गर्नुको कारण छिट्टै बाहिर आउनेछ ।