पशुपति गौशाला धर्मशालाबारे अध्ययन गर्न समिति गठन

काठमाडौं । पशुपति धर्मशालाको विषयमा अध्ययन गर्न भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले छ सदस्यीय समिति गठन गरेका छन ।  मन्त्रालयले सोमबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखा प्रमुखको अध्यक्षतामा धर्मशालाका विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न छ सदस्यीय अध्ययन समिति गठन गरिएको जानकारी दिएको हो ।

अध्ययन समितिका अन्य सदस्यहरुमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपससचिव, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव, पुरातत्व विभागका उपसचिव र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति शाखाका उपसचिव रहने बताइएको छ ।

समितिले गौशाला धर्मशाला स्थापनादेखिको अवस्थाको अध्ययन गर्ने, धर्मशालाको आयव्ययको विवरण, लेखा परीक्षण अवस्था, सम्पत्ति, दायित्व, निर्मित संरचना तथा गौशाला धर्मशालाबाट प्रवाह भएको सेवाको प्रकृति तथा अवस्था अध्ययन गर्ने जिम्मेवारी पाएको छ ।

अदालतबाट विभिन्न समयमा भएको आदेश तथा फैसलाको कार्यान्वयनको अवस्था, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक लेखा समिति, महालेखा परीक्षकको प्रतिवेदन, विभिन्न समयमा गठन भएका समितिको प्रतिवेदन र मन्त्रालय तथा पशुपति क्षेत्र विकास कोषका निर्णय अध्ययन गर्नेे जिम्मा समितिलाई दिइएको छ । कोषको आग्रहअनुसार काठमाडौं महानगरपालिकाले धर्मशाला खाली गराउने प्रयास गरेपछि मारवाडी समुदायले विरोध जनाएका थियो । विवाद बढ्दै गएपछि धर्मशाला खाली गराउने कार्य रोक्न मन्त्री पाण्डेले कोषलाई पत्र काटेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर