मनसुनमा हेलिकप्टर उडानका लागि लगाएको प्रतिबन्ध फुकुवा

काठमाडौं ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले मनसुनमा हेलिकप्टर उडानका लागि लगाएको प्रतिबन्ध हटाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मनसुन सकिएसँगै हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्ध हटाइएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन सकिएको घोषणा गरेसँगै प्राधिकरणले मनसुनमा हेलिकप्टरको उडानका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।

सूचनामा भनिएको छ, “मनसुन सिजनमा हेलिकप्टरको हिमाल नजिक गएर साइड सिन देखाउने (माउन्टेन फ्लाइट), हेलिकप्टरको तल सामान भुण्ड्याएर गर्ने ‘सिलिङ फ्लाइट’, ‘पुष्पवृष्टि फ्लाइट’उडानको प्रतिबन्ध हटाइएको छ ।” प्राधिकरणले वर्षात्को समयमा हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि हरेक वर्ष मनसुन समयमा यस्तो प्रकृतिको हेलिकप्टर उडानमाथि प्रतिबन्ध लगाउँदै आएको छ ।

मौसम पूर्वानुमान महाशाखाले १२ अक्टोबरदेखि नेपालबाट मनसुन बाहिरिएको घोषाणा गरेको थियो । नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिएर अक्टोबर २ तारिखमा बाहिरिन्छ । यो वर्ष जुन १० बाट सुरु भएको मनसुन १२ अक्टोबरदेखि नेपालबाट बाहिरिएको थियो ।

मनसुनको समयमा जतिबेला पनि मौसम परिवर्तन हुनसक्ने र हेलिकप्टर उडानमा जोखिम हुने भएकाले प्राधिकरणले हेलिकप्टरको उडानमा प्रतिबन्ध लगाएको सूचना अधिकारी भुलको भनाइ छ । यसैबीच हेलिकप्टर उडानको अनुमति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाटै दिने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर