आजदेखि साफ महिला च्याम्पियनसिप सुरु हुने

काठमाडौं ।   दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप सातौँ संस्करणको आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।

एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन्भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन् । प्रतियोगिताको उद्घाटन खेल आजै भारत र पाकिस्तानबीच हुनेछ । भोलि शुक्रबार  नेपाल भुटानसँग भिड्नेछ ।

यसैबीच अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ महिला च्याम्पियनसिपको टिकट विक्रीको २० प्रतिशत रकम राष्ट्रिय महिला फुटबल टोलीलाई दिने घोषणा गरेको‌ छ। साफ सुरु हुनुअघि नै महिला टोलीले १६ लाख रुपैयाँ पाउने पक्का भएको हो । ८० लाख रुपैयाँमा एन्फाले एक कम्पनीलाई टिकट विक्रीको जिम्मेवारी दिने सम्झौता गरिसकेकोले टोलीले १६ लाख रुपैयाँ पाउने पक्का भएको छ । हिजो आयोजित एक कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले टिकट विक्रीको २० प्रतिशत रकम दिने घोषणा गरेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर