इस्लामी समूह हिजबुल्लाहलाई लक्षित गरी हजारौं हमला

काठमाडौं ।  उत्तरी लेबनानमा इजरायली सेनाले गरेको हवाई हमलामा परी २१ जना सर्वसाधारणको मृत्यु भएको छ । घटनामा अन्य ८ जना घाइते भएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाले सिया इस्लामी समूह हिजबुल्लाहलाई लक्षित गरी हजारौं हमला गरिरहेको छ । तर हालै आक्रमण गरिएको एटोउ गाउँ भने क्रिश्चियनहरुको गाउँ हो । साथै सो गाउँ इस्लामी समुदायको बसोबासस्थलबाट निकै टाढा रहेको बताइएको छ । गाउँको एक आवासीय भवनमा आक्रमण भएको हो । हालैको युद्धबाट विस्थापित भएको एक परिवार सो गाउँमा बसोबास गरिरहेको स्थानीयले बताएका छन् ।

सो आक्रमणका विषयमा इजरायली सेनाले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहप्रति कुनै दयाभाव नदेखाई बेरुत सहित जुनसुकै स्थानमा आक्रमण गर्ने प्रतिज्ञा लिएपछि यो घटना भएको हो । आइतबार राति इरान समर्थित समूहले गरेको ड्रोन आक्रमणबाट चार इजरायली सैनिकको मृत्यु हुनुका साथै कयौं घाइते भएका थिए । सोही आधार शिविरको भ्रमणपछि नेतान्याहु हिजबुल्लाहप्रति थप आक्रामक हुनुभएको हो । इजरायली परिस्कृत वायु रक्षा प्रणाली छेडेर सैन्य प्रशिक्षण केन्द्रमा कसरी ड्रोन आक्रमण भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर