आज आइतबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आज आइतबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुट दिएर प्रतिकेजी ६६० रुपैयाँ बिक्री खुला गरेको हो । यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुुट दिएर एक हजार २२० रुपैयाँ बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले  शनिबारसम्म २०८ खसीबोका र तीन सय च्याङ्ग्रा भित्रिसकेको जानकारी दिइन्। हेटौँडाबाट पहिलो लटमा २०८ खसीबोका आइपुगेको र बाँकी बाटोमा आउने तयारीमा रहेको उनले जानकारी दिइन्। च्याङ्ग्रा भने मुस्ताङबाट ल्याएको छ । चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न प्रत्येक वर्ष कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने गर्छ । यसपालि दसैँमा कम्पनीले एक हजार एक सय खसीबोका र तीन सय च्याङ्ग्रा ल्याउने योजना बनाएको छ ।

निजी व्यवसायीले भने घटस्थापनाको दिनदेखि खसीबोका ल्याएर बिक्री सुरु गरिसकेका छन् । दसैँमा ठुलो सङ्ख्यामा खसीबोकाको खपत हुने हुँदा व्यवसायीले विभिन्न जिल्लाबाट खसीबोका खरिद गरी उपत्यकामा ल्याएर बिक्री गर्ने गर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर