आजदेखि हिन्दुहरुको बडादशैं सुरु, घटस्थापनाको साइत ९ बजेर १६ मिनेटमा

काठमाडौं ।  आजदेखि हिन्दुहरुको महान चाड बडादशैं सुरु हुँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने  बडादशैंको पहिलो दिन भोलि ‘शैलपुत्री’ दुर्गाभवानीको पूजा गरी घटस्थापना गर्ने र जमरा राख्ने गरिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समिति विकास समितिका अनुसार, यस पटक  घटस्थपना गर्ने साइत भोलि बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।  नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा या दसैंघरमा जमरा राखिन्छ । माटाको घट (कलश) स्थापना गरी जमरा राख्ने गरिन्छ ।

घटस्थापनाका दिन दुर्गापूजासँगै विभिन्न शक्ति पीठको दर्शन गर्ने चलन छ।  यस्तै असोज २६ गते शनिबार टीकाको दिन परेको छ भने । टीका ग्रहणको शुभ साइत भने ११ बजेर ३६ मिनेट जाँदा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

नौ दिन नौ दुर्गाको पूजा

यस क्रममा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजाआराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिएको छ ।

आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजाआराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।

दुर्गाको प्रतीकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै गरी नौवटी कन्याको पूजासमेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दसैँघर, कोत र शक्तिपीठमा बलिसहित विशष पूर्जा गर्छन् ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवी भागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरूको पाठ पारायण पनि गर्ने गरिन्छ । यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीडसमेत लाग्ने गर्छ ।

विजयादशमीको साइत असोज २६ गते ११:३६ बजे

नवरात्र भनेरसमेत चिनिने दसैँ नौ रात र दश दिनको हुने गरेकामा यस वर्ष आठ रात र नौ दिनको मात्र परेको छ । तिथिको घटबढका कारण यस्तो परेकाले सोहीअनुसार खापेर पूजा र पाठ गरी देवीको आराधना गर्नुपर्ने तन्त्र विषयका पुस्तकमा लेखिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गादेवीलाई असोज २६ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र पूmल प्रसादका रूपमा ग्रहण गर्ने गरिन्छ । असोज २६ गते देवी विसर्जनको साइत बिहान ८:३३ बजे रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ११:३६ बजेको उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ ।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धनधान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ ।

हनुमानढोकाको दसैँ घरमा विशेष पूजा

परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँघरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरूपा दुर्गादेवीको पूजाआराधना सुरु हुन्छ । आज बिहान वैदिक विधिपूर्वक समितिले दिएको साइतमा घटस्थापना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले बताउनुभयो ।

दसैँघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजाआराधना गरिन्छ । महानवमीका दिन हनुमानढोकाको कोतमा बलिसमेत दिने गरिन्छ । रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घरबाहिर रहेका मानिसहरू दसैँका अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर पर्व मनाउँछन् । यसैले बडादसैँलाई पारिवारिक पुनःमिलनको पर्वका रूपमा समेत लिइन्छ । धेरैजसो शैक्षिक संस्थाले दसैँका अवसरमा आजैदेखि सार्वजनिक बिदा दिने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर