बाढीबाट ३६ वटा आयोजना प्रभावित हुँदा ११ सय मेगावाट बिजुली उत्पादनमा असर

काठमाडौं ।  निजी क्षेत्रको विद्युत् उत्पादक संघ इप्पानले यस वर्षको बाढीबाट ३६ वटा आयोजना प्रभावित भएको जनाएका छन् । त्यसमा सबैभन्दा बढी क्षति बागती साना जलविद्युत् आयोजनाको भएको छ । सो आयोजनाको  एक अर्बबराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । सो आयोजना २२ मेगावाट क्षमताको हो ।

यस वर्ष बाढीका कारण माउन्टेन हाइड्रो नेपालद्वारा प्रवर्द्धित २२ दशमलव एक मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजनाको बिजुली उत्पादन बन्द भएको छ । सो आयोजना गत वर्ष पनि बाढीबाट प्रभावित भएको थियो । हाल उक्त आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ । पाँचथर पावरद्वारा प्रवर्द्धित १४ दशमलव नौ मेगावाट क्षमताको हेवाखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पनि बन्द भएको छ । गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनःनिर्माण सकेर सञ्चालनमा आउनै लाग्दा आयोजना पुनः क्षतिग्रस्त भएको हो ।

साहस ऊर्जाद्वारा प्रवर्द्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत् आयोजनाको बाँध स्थलमा क्षति पुग्दा विद्युत् उत्पादन बन्द छ । सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवर्द्धित तीन मेगावाट क्षमताको माइखोला क्यासकेड जलविद्युत् आयोजनाको बाँधलगायतका संरचनामा क्षति पुगेको छ । इप्पानका अनुसार सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवर्द्धित नौ दशमलव छ मेगावाट क्षमताको माइखोला जलविद्युत् आयोजनाको बाँध र प्रसारणलाइनमा क्षति पुगेको छ । फेमे खोला जलविद्युत् आयोजना सिउरीखोला पनि बाढीले क्षति पुर्‍याउँदा विद्युत् उत्पादन बन्द भएको जनाइएको छ ।

कूल ४० मेगावाट क्षमताको सुपरन्यादी जलविद्युत् आयोजनाको पहुँचमार्ग र सुरक्षा पर्खालमा बाढीका कारण क्षति पुगेको छ । इलेप खोला तातोपानी जलविद्युत् आयोजनामा पनि बाढीले क्षति गरेको छ भने कोरियन लगानी रहेको २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ को क्याम्प हाउस र पहुँचमार्गमा क्षति भएको छ । निर्माण सामग्री राखिएको तीन वटा कन्टेनर बगाएको छ । हेवाखोला जलविद्युत् आयोजनाको क्रसर पुरिएको छ भने पहुँचमार्गमा क्षति भएको छ । यस्तै, बाढीका कारण प्रसारणलाइनको टावर ढलेका छन् भने पावर हाउसमा जडान गर्न ल्याइएका सामग्री बगाएको छ ।

सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको पहुँचमार्गमा पहिरोका कारण समस्या उत्पन्न भएको छ । यसैगरी पावरहाउस पुरिएको र बाँधमा क्षति हुन गएको छ । इप्पानका अनुसार सभाखोला ‘सी’ जलविद्युत् आयोजना पहुँचमार्गमा क्षति पुगेको छ भने लान्द्रुक मोदी जलविद्युत् आयोजनाको पनि सडक पूर्वाधार बगाएको छ । बाढीले सुपर त्रिशूली जलविद्युत् आयोजनाको निर्माण उपकरण बगाएको छ । कूल एक सय मेगावाट क्षमताको सो आयोजना निर्माणको क्रममा छ । आयोजनाको दुई वटा स्काभेटर लोडर र तीन वटा ट्रिपर बगाएको छ । त्यस्तै, बेलीब्रिज र खन्ने क्रममा रहेको पावर हाउस पुरिएको छ ।

तामाकोशीको क्षति ठूलो

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोशीको क्षति यकिन हुन बाँकी छ । हाल प्राविधिकहरु आयोजना स्थल पुगेर मूल्याङ्कन गरिरहेको जनाइएको छ । बाँधस्थलमा अवस्थित ‘कन्ट्रोल रुम’मा पूर्ण रुपमा क्षति भएको छ । ‘सेटलिङ बेसिन’, ‘बक्स बेसिन’, ‘बक्स कल्भर्ट’मा बालुवा र ग्रेगान थुप्रिएको छ । बाढीका कारण दुई सुरक्षाकर्मी र दुई कर्मचारीलाई तामाकोशी नदीले बगाएको थियो । कूल चार सय ५६ मेगावाट क्षमताको सो आयोजना बन्द हुँदा बिजुली व्यवस्थापनमा प्राधिकरणलाई समस्या भएको छ । सो आयोजनाको बिजुली आन्तरिक रुपमा खपत गरेर अन्य आयोजनाको बिजुली भारत निकासी हुँदै आएको थियो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले क्षतिको मूल्याङ्कन भइरहेको जानकारी दिँदै लामो समयसम्म आयोजना बन्द हुने अवस्था आए हिउँदमा बिजुली व्यवस्थापन गर्न गाह्रो हुने बताए । इप्पानका अनुसार, गत वर्षको बाढीले सुपर हेवा खोला (६ मेवा) पिलुवा खोला (४ मेवा), सवा खोला ‘बी’ (२१.५ मेवा), सवा खोला ‘सी’ (६.३ मेवा), इन्ग्वा खोला (९.७ मेवा) , सुपर काबेली ‘ए’ (१३.५ मेवा), सुपर काबेली खोला क्यासकेड (१२ मेवा), काबेली (२..९३ मेवा), काबेली ‘ए’ (३७.६ मेवा), हेवा खोला ‘ए’ (७.५ मेवा), इसुवा खोला (९७.५ मेवा), इसुवा क्यासमेड (४० मेवा), तल्लो इर्खुवा (१४.१ मेवा), माथिल्लो इर्खवा ९१४.५ मेवा), सवा खोला ‘ए’ (१०.४ मेवा), माया खोला (१४.९ मेवा) मा समस्या पारेको थियो । ती सबै आयोजना निर्माणाधीन अवस्थामा थिए ।

बाढीका कारणले ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा रहेका २३ वटा जलविद्युत् आयोजना प्रभावित भएका थिए । उक्त वर्ष हेवाखोला, माया खोला, काबेली, इवा र इङ्गुवा खोला तथा नदी बेसिनमा निर्माणाधीन तथा सञ्चालनमा रहेका २३ जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । निजी क्षेत्रका ऊर्जा उत्पादकले निर्माण अवधिको ब्याज छुटदेखि पुनःनिर्माणमा प्रयोग हुने स्पेयर्स पार्टसको भन्सार दर एक प्रतिशत नै कायम गर्न माग गरेको भएपनि हालसम्म पूरा नभएको जनाइएको छ । इप्पानका अध्यक्ष गणेश कार्कीले भन्सार महसुल वृद्धि हुँदा मर्मतको उपकरण ल्याउन समस्या भएको गुनासो गरे ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा यही असोज १३ गते आयोजित पत्रकार सम्मेलनमा उपस्थित कार्कीले ऊर्जा मन्त्रालय र अर्थ मन्त्रालयमा फाइल पठाउने काम मात्रै भएको र गत वर्षको बाढीका कारण समस्यामा परेका आयोजनाको हालसम्म सम्बोधन हुन नसकेको बताएको थियो । गत वर्षको बाढीले ९५ प्रतिशत निर्माण पूरा भएको आयोजनाको सबै संरचना बगाएको थियो । अघिल्ला वर्षहरुको बाढीले क्षति पुर्‍याएर पुनःनिर्माण गरी सञ्चालनमा ल्याइएका आयोजना समेत प्रभावित भएका थिए ।

निजी क्षेत्रको माग

निजी क्षेत्रले आयोजनाको अनुमतिपत्रको म्याद थप, पुनरकर्जाको माग गर्दै आएका छन् । इप्पान अध्यक्ष कार्कीले यस वर्षपनि आफूहरुको माग पुरानै रहेको बताउनुभयो । जलविद्युत् आयोजनाका प्रवर्द्धकले बीमा गरेको भएपनि बीमाको दाबी भुक्तानीका लागि समस्या भइरहेको बताएका छन् । ऋण लगानी गर्दा कुनै एउटा संस्थाको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले सहवित्तीयकरण गरे जस्तै बीमामा पनि त्यस्तै व्यवस्था गर्नुपर्ने माग गरेका छन् । गत वर्षको जस्तो जलविद्युत् आयोजनामा मानवीय क्षति नभएपनि अन्य संरचनामा पुगेको क्षतिले समग्र अर्थतन्त्रमा समस्या ल्याउन सक्ने देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर