मध्यपूर्वमा युद्ध चर्कंदै, इरान-इजरायलबिच क्षेप्यास्त्र हानाहान

काठमाडौं ।  इरानले इजरायलतर्फ प्रहार गरेको झण्डै १८० वटा क्षेप्यास्त्रमध्ये अधिकांशलाई इजरेली हवाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट गरिएको इजरेली सेनाले जनाएको छ। जेरुसेलमस्थित एकजना बीबीसी संवाददाताले केही सैन्य अखडामा प्रहार लागेको बताएका छन्। केही रेस्टुराँ र विद्यालयमा समेत क्षति पुगेको छ। अधीनस्थ वेस्ट ब्याङ्कको जेरिको क्षेत्रमा एकजना प्यालेस्टिनी पुरुष मारिएको इजरेल डिफेन्स फोर्सेस (आइडिएफ) का एकजना प्रवक्ताले जनाएका छन्।

इरानी विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जाल एक्समा इरानले आफ्नो सैन्य कारबाही “पूरा गरेको” जनाएका छन्। तर इजरायलले जबाफी कारबाही गरेमा थप हमला गर्ने जनाएका छन्। इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानले “ठूलो गल्ती गरेको” बताउँदै त्यसको “मूल्य चुकाउनु पर्ने” बताएका छन्।

इरानी राष्ट्रपति मसूद पेजेस्कियानले मङ्गलवार राती गरिएका हमलालाई आफ्नो देशको “वैध अधिकार” बताउँदै त्यो “इरान र यस क्षेत्रको शान्ति र सुरक्षा”को उद्देश्यसाथ गरिएको बताएका छन्। सामाजिक सञ्जाल एक्समा लेख्दै उनले हमलालाई “इरानी स्वार्थ र नागरिकको प्रतिरक्षा”का लागि इजरेललाई दिइएको एउटा “निर्णायक” जबाफ बताएका छन्।

नेतन्याहूललाई सम्बोधन गर्दै उनले “इरानसँग युद्ध उन्माद नभएको तर जुनसुकै खतराविरुद्ध जोडदार रूपले खडा हुने” कुरा इजरेली प्रधानमन्त्रीले बुझ्नुपर्ने बताए। उनले ती हमला इरानको क्षमताको केही “झलक” मात्र रहेको भन्दै इरानसँग “द्वन्द्वमा संलग्न” नहुन चेतावनी दिए। इरानी हमलापछि राष्ट्रपति जो बाइडनले इजरेलप्रति अमेरिकी साथ निरन्तर रहेको कुरा दोहोर्‍याएका छन्। उनले तेहरानको हमलालाई “पराजित र निष्प्रभावी” बताउँदै उक्त हमलालाई निष्फल तुल्याउन इजरेलसँग अमेरिकी सेनाले मिलेर काम गरेको बताएका छन्।

ब्रिटिश प्रधानमन्त्री कार्यालयबाट जारी गरिएको एक विज्ञप्तिमा सर किअर स्टार्मरले जर्मन चान्सलर ओलाफ सोल्जसँग कुरा गरेको र दुवैले इरानी हमलाको निन्दा गरेको जनाएका छन्। उक्त हमलाको निन्दा गर्नेमा फ्रान्स र जापान समेत रहे पनि उनीहरूले समेत सबै पक्षलाई अवस्था थप चर्काउने काम नगर्न भनेका छन्। संयुक्त राष्ट्रसङ्घ र युरोपेली सङ्घ ईयूले युद्धविरामको माग दोहोर्‍याएका छन्। राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठक बुधवारका लागि बोलाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर