जनताको पक्षमा काम गरे सरकारलाई हाम्रो सहयोग रहन्छ : लामिछाने

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको पक्षमा काम गर्दै गए वर्तमान सरकारलाई आफ्नो पार्टीले सहयोग गर्ने बताएका छन् ।

सो पार्टीद्वारा शनिबार आयोजित सूर्यविनायक नगरपलिकाको नगर समिति गठन गर्ने कार्यक्रममा सभापति लामिछानेले आफ्नो पार्टी नागरिकको पक्षमा काम गर्ने सरकारलाई सहयोग गर्दै गर्दा पनि प्रतिपक्षमा उभिने बताएका हुन् ।

सभापति लामिछानेले भने, “प्रधानमन्त्रीलाई मैले हिजो बालुवाटारमा गएर भेटेको थिएँ, मैले उहाँलाई हौसला दिएर आएको छु, भ्रष्टाचारका सबै फाइल एकपछि अर्को खोल्नुस्, जुनसुकै दलका नेता परेपनि जोगाउन नलाग्नुस्, दोषीमाथि कारबाही गर्नुस्, हाम्रो पार्टीले नागरिकको पक्षमा काम गरे सहयोग गर्छाैं ।”

दोषीमाथि कारबाही गर्न र पक्राउ गर्न सरकारलाई खुट्टा नकमाउन आग्रह गर्दै उनल भने, “नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारलाई धन्यवाद दिएको र वाइडबडी, यति, ओम्नीलगायतका सबै काण्डहरुको फाइल खोल्दै गए धन्यवाद दिँदै जाने र सहयोग पनि गर्दै जानेछौं । तीन दिनका शीर्ष नेता सुटुक्क बसेर भ्रष्टाचार काण्डलाई विषयान्तर गर्न खोजेर दोषीलाई उन्मुक्ति दिन खोजे जनतालाई साथमा लिएर त्यसका विरुद्ध घण्टी बजाउछौँ ।”

देशको साझा शत्रु भनेकै भ्रष्टाचार भएकाले सबै दल मिलेर यसको जरो उखेल्नुपर्छ भन्दै उनले भने, “पहिलानै भ्रष्टाचारविरुद्ध काम गरेको भए अहिले काण्डै काण्डको खात लाएर बस्नु पर्दैनथ्यो, सरकार अहिले कस्सिएर लागेको छ, अब कुनै पनि काण्ड आउँदो पुस्ताका लागि हस्तान्तरण गर्ने होइन, सबै काण्ड सिध्याएर दोषी सबैलाई जेल हाल्ने हो, यदि सरकार यसबाट पछि हट्यो भने नयाँ पार्टी र जनताले छाड्दैनन् ।”

सरकारले भ्रष्टाचारीविरुद्धको कदम सुरु गरेसँगै देशका भ्रष्टाचारीहरु धमाधम भाग्न थालेको बताउँदै सभापति लामिछानेले भने, “हिजो हवाई चप्पल लगाएर आएकाहरु आज हजाई जहाज नभई हिँड्दैनन्, सरुवा बढुवामा समेत पैसा खाएर गरीबको पसिना चुस्नेलाई जेल हाल्नै पर्छ, भ्रष्टाचारी को–को हुन् सबैलाई थाहा छन्, सबैका बैंक एकाउन्ट, खाता, फोन, उनीहरुको आफन्तका खाता, घर, खानतलासी गर्न गरौँ, उनीहरुको पहिला र अहिलेको परिवर्तनका स्रोत खोज्न सरकारले खुट्टा नकमाओस् ।”

उनले गत मंसिर ४ गतेबाटै भ्रष्टाचारविरुद्ध घण्टी बजाएर निस्केको बताउँदै राज्यसत्ताको दुरुपयोग, गुण्डागर्दी र पैसा बाँडेर नभई जनताको मन जितेर आमनागरिकले खोजेको परिवर्तन पूरा गर्न पार्टी अगाडि आएको बताए । उनले भने, “चुनावमा लामो इतिहास बोकेका पार्टीदेखि सबै मिडिया हाम्राविरुद्ध लागे तर जनताले साथ दिए, हामी घण्टी मात्रै बजाएर आएका थियौँ, तर यिनीहरुको मनमा ढयाङ्ग्रो बज्न थालेको छ, त्यसैले भ्रष्टाचारीहरुको एक–एक हिसाब नलिई घण्टीको आवाज रोकिन्न ।”

व्यक्तिगत स्वार्थ र फाइदा लिन्छु भनेर गलत मनसाय राखेर आउने जोकोही व्यक्तिलाई आफ्नो पार्टीका कुनै स्थान नरहेको भन्दै उनले त्यस्तो कुनै पनि गतिविधि थाहा पाए तत्कालै पार्टीबाट निष्काशन गर्ने र त्यसको उदाहरण सांसदलाई समेत गरेको कारवाहीबाट देखिएको बताए ।

कार्यक्रममा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सबै पार्टी मिलेर भ्रष्टाचार निर्मूल पार्दै राजनीतिलाई शुद्धीकरण गर्नुपर्ने औंल्याउँदै नेताले भ्रष्टाचार गरेर नियतवश जनतालाई गरीब बनाएको आरोप लगाए । नेताको स्वार्थ र खुशीका लागि देश बिगार्न पाइँदैन् भन्दै उनले २०८४ सालको चुनावसम्ममा भक्तपुरमा अरु पार्टी नरहने दावी गरे ।

कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले देशमा व्यवस्था परिवर्तन भएपनि शासकीय सोच परिवर्तन नभएको भन्दै उनले व्यवस्था नभई देशको अवस्था परिवर्तन गर्ने अभियान आफ्नो पार्टीले चलाएको बताए ।

जनताले जिताएर पठाएको भोलिपल्टै आफूलाई राजनेता ठान्ने र ठूला महल खोज्ने प्रवृत्तिले भ्रष्टाचार मौलाएको बताउँदै उनले भ्रष्टाचारको प्रत्येक फाइल खोल्दै देशको ढुकुटी रित्याउने जोकोहीलाई कारबाही गर्ने गरी सुरु भएको भ्रष्टाचारविरुद्धको अभियानलाई पूर्णता दिन घर-घरबाट उठ्नुपर्ने बताए । कार्यक्रमका सभापति एवं रास्वपाका भक्तपुर संयोजक रामेश्वर बस्नेतले नयाँ पुस्तालाई पार्टीको नगर समितिको जिम्मेवारी दिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर